
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मार्फत प्रदेशका हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक राख्ने जनाएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै, हरेक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मध्य एक जनालाई प्रशिक्षण प्रदान गरेर खेलकुद शिक्षक तोक्ने व्यवस्था मिलाउने बताएका हुन् ।
स्तै प्रदेश सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश खेलकुद विकास र विस्तारका लागि प्रदेश खेलकुद परिषद् र स्थानीय तहसँग सहकार्य र समझदारीमा प्रदेश स्तरीय रंगशाला, कभर्डहल, फुटसल तथा खुल्ला व्यायाम शाला लगायतका खेल पूर्वाधारको निर्माण र संरक्षणमा जोड दिईने उल्लेख गरिएको छ ।
यस्तै, नियमित रुपमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको तर्फबाट सहभागिताको लागि आवश्यक व्यवस्था गरिने उल्लेख छ । यस्तै, सरकारले खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई प्रशिक्षण, सम्मान र पुरस्कारको व्यवस्था मिलाउने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
