
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा धादिङ सहित प्रदेशका ७ अस्पतालहरुलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नति गर्ने जनाएको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै, धादिङ, हेटौँडा, भक्तपुर, त्रिशुली, सिन्धुली, बकुलहर र पशुपति चौलागाईं स्मृति अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नति गर्ने जनाएका हुन् ।
जनयुद्ध र जनआन्दोलनका घाइतेलाई प्रादेशिक अस्पतालहरूबाट निःशुल्क उपचारको व्यवस्था गरिने, ‘स्वास्थ्य जीवनशैली प्रवर्धन, बागमती प्रदेशको अभियान’लाई अघि बढाइने, ‘जनता पोषण कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
बागमती प्रदेशको नीति तथा कार्यक्रममा, एक विद्यालय, एक नर्स कार्यक्रमलाई थप प्रभावकारी बनाईने, उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, कक्षा ११ र १२ मा अल्पसंख्यक, लोपोन्मुख, अति सीमान्तकृत, दलित समुदायका छात्रछात्रालाई शैक्षिक छात्रबृत्ति प्रदान गरिने, इनोभेसन सेन्टर स्थापना गरिने, बीस जना भन्दा बढी ज्येष्ठ नागरिक सहित सञ्चालनमा रहेका बृद्धा श्रममा नर्सिङ सेवा उपलब्ध गराइने, चेपाङ विशेष संरक्षित क्षेत्र बनाइने, ‘बगमती प्रदेश, पूर्ण उज्यालो प्रदेश’ कार्यक्रम उल्लेख छ ।
