प्रदेश सांसद जगत सिंखडा भोट हाल्न सिकाउँदै गाउँमा

Avatar photo
Dhadingpost
बैशाख २३, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका आगिञ्चोक निवासी बागमती प्रदेशका सांसद जगत सिंखडा मतदाता शिक्षालाई प्रहिलो प्राथमिकता दिनु पर्ने बताउँछन् । हामीले पालिका र केहि वडाहरुमा साझा उम्मेदवार उठाएका छौं । यस्तो अवस्थामा मतदाताहरुलाई भोट हाल्न सिकाउन अनिर्वाय भएको उनी बताउँछन् ।

रुबीभ्यालीमा गठबन्धनको उम्मेदवार दर्ता गर्न रुबीभ्याली पुगेका उनी यतिबेला त्रिपुरासुन्दरीमा गठबन्धनका उम्मेदवार एकल उठेको ठाउँमा माओवादी उम्मेदवारलाई भोट माग्दै भोट हाल्न सिकाउँदै छन् ।

विहिबार सिंखडाकै नेतृत्वमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। ५ र ६ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भयो । राजु शाहको अध्यक्षतामा भएको चुनावी सभा कार्यक्रममा नेता सिंखडाको प्रमुख आतिथ्य तथा शिक्षक नेता अर्जुन बहादुर नगरकोटीको विशेष आतिथ्य रहेको थियो ।

नेकपा माओवादी केन्द्रले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। ५ को अध्यक्षमा कुश बहादुर सिटौला र वडा नं। ६ को अध्यक्षमा हरि विश्वकर्मालाई उम्मेदवार बनाएको छ । चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंखडाले स्थानीय निर्वाचनमा माओवादीप्रति जनलहर देखिएकाले जित सुनिश्चित रहेको दाबी गरे ।

व्यवस्था बदल्नको निम्ति माओवादीले नेतृत्वदायी भूमिका खेलेको बताउदै सिंखडाले प्राप्त उपलब्धीहरुको संरक्षण गर्दै गरिब जनताको पार्टी माओवादी भएकाले ढुक्क भएर हसिाया हथौडामा मतदान गर्न आम मतदाताहरुलाई आग्रह समेत गरे।