नीलकण्ठ ३ को चुनावमा रोचक प्रतिपर्धा हुने आँकलन

Avatar photo
Dhadingpost
बैशाख १८, २०७९

धादिङ । धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकामा यो पटक रोचक प्रतिपर्धा हुने आँकलन गरिएको छ । कांग्रेसको बाहुल्यता रहेको यस वडामा यो पटक कांग्रेसबाटै वागी उम्मेदवार रहे सँगै रोचक प्रतिपर्धा हुने आँकलन गरिएको हो ।

यसअघि ०७४ सालमा कांग्रेसले जितेको यस वडामा यो पटक पनि अध्यक्ष पदका लागि कांग्रेसको आधिकारीक उम्मेदवारको रुपमा गोपीकृष्ण भण्डारीे उम्मेदवार छन् भने कांग्रेसबाट विद्रोह गर्दै राजकुमार श्रेष्ठ (डाँडाघरे) पनि उम्मेदवार छन् ।

लोकप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित गोपीकृष्ण भण्डारी अध्यक्ष पदका बलिया उम्मेदवार हुन् । उनले ०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षले भन्दा भारी ९७४ मत ल्याई वडा सदस्यमा विजयी भएका थिए । यो पटक कांग्रेसको मत विभाजित गर्दै एकीकृत समाजवादीको भोटको समेत सहयोगमा वडा अध्यक्ष जित्ने दाउमा राजकुमार श्रेष्ठ (डाँडाघरे) छन् ।

नीलकण्ठ ३ मा दास्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रबाट नारायणकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनले ०७४ सालको चुनावमा कांग्रेसका होमनाथ रिजाल सँग पराजित भएका थिए । ०७४ सालमा कांग्रेसका होमनाथ रिजालले ८४२ मत ल्याई विजयी हुँदा श्रेष्ठले ७७६ मत ल्याएका थिए । यो पटक कांग्रेसको दुई उम्मेदवार हुँदा मत विभाजन हुने र नतिजा आफ्नो पक्षमा सजिलै आउने उनको दावी छ ।

यस्तै तेस्रो शक्तिका रुपमा रहेको नेकपा एमालेबाट धादिङबेसी सिरानबजारका किरण पाठक र राप्रपाबाट खड्कभुवान श्रेष्ठ पनि यस वडाको अध्यक्ष पदका लागि उम्मेदवार छन् ।