
धादिङ । धुनीबेसी नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा सत्ता गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र दुबै दलबाट उम्मेदवारी परेकोमा शुक्रबार कांग्रेसबाट उम्मेदवारी दिएका राजकुमार बानियाले उम्मेदवार फिर्ता गरेका छन् ।
नेपाली कांग्रेस धुनीबेसी ६ को वडा सभापति समेत रहेका बानियाले वडामा अध्यक्ष पदमा स्वतन्त्र दिएका थिए, उनले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
अर्का अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका रमेश आचार्य प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा एबीसी टिलिभिजनका धादिङ प्रतिनीधि समेत हुन् । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । बानियाले उम्मेदवारी फिर्ता गरे सगै आचार्यलाई सजिलो भएको माओवादी केन्द्र धुनीबेसीले जनाएको छ ।
माओवादी केन्द्रका आचार्य यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा समेत यस वडाको अध्यक्षका उम्मेदवार थिए । त्यो बेला वडा नम्बर ६ को अध्यक्षमा ३ जनाको उम्मेदवारी रहेकोमा कान्छा तामाङ एमाले ४९६ मत ल्याउँदै विजयी बने, उनको प्रतिपर्धीहरु राजकुमार बानियाँ कांग्रेस ४२७, रमेश आचार्य माओवादी केन्द्रले ४१५ मत ल्याएका थिए ।
