
धादिङ । नेपाली कांग्रेस धादिङले प्रेस अपिल जारी गर्दै पार्टीको निित विपरित स्वतन्त्र उम्मेदवारी दिनेलाई उम्मेदवारी फिता गर्न आग्रह गरेको छ ।
अपिलमा भनिएको छ, नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान २०७२ जारी भएर मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक नेपाली कांग्रेसकै नेतृत्वमा स्थानीय तहको निर्वाचन आगामी २०७९ बैशाख ३० गते सम्पन्न हुँदैछ । उम्मेदवारको मनोनयन भएसँगै नेपाली जनतामा देशभर अभूतपूर्व उत्साह सिर्जना भएको छ र देश निर्वाचनमय भएको छ ।
नेपालका हरेक राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका मुद्दाहरूमा उपलब्धिमूलक नेतृत्व गरेको एवम् संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी समुन्नत नेपाल निर्माणका लागि स्थानीय सरकारलाई बलियो बनाउने र जनताको जीवनस्तर सुदृढ बनाइ जनअधिकारको रक्षाका लागि रक्षाकवचको भूमिका निर्वाह गरिरहेको पार्टी नेपाली कांग्रेसलाई हरेक गाउँपालिका र नगरपालिकामा विजयी गराउन नेपाली जनता प्रतीक्षारत छन् ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी पाँच दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने केन्द्रीय संयन्त्रको निर्णयलाई जिल्ला संयन्त्र र पार्टीले कार्यान्वयन गर्ने क्रममा पार्टीको निर्णयबमोजिम साथीहरूले पालिका र वडाहरूमा आधिकारिक उम्मेदवारी दर्ता गराउनुभएको छ ।
केही पालिका र वडामा साथीहरूले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको जानकारी जिल्ला पार्टीलाई प्राप्त भएको छ । नेपाली कांग्रेस धादिङ साथीहरूको पार्टी संगठनमा योगदान र क्षमताको सम्मान गर्दै सबै साथीहरूलाई एकैपटक न्याय र अवसर उपलब्ध गराउन नसकिएको यथार्थलाई स्वीकार गर्दछ ।
वर्तमानको गम्भीर राजनीतिक चुनौती र पार्टी एवम् गठबन्धनलाई जिताउनु पर्ने हाम्रो साझा जिम्मेवारीलाई विश्लेषण गर्दै र नेपाली कांग्रेस, केन्द्रीय कार्यालयको बैशाख १४ गतेको परिपत्र एवम् दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको बैशाख १४ गतेको निर्णयलाई ध्यानमा राख्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका सदस्य साथीहरूलाई आ-आफ्ना उम्मेदवारी फिर्ता लिनुहुन नेपाली कांग्रेस धादिङ हार्दिक अनुरोध गर्दछ । पार्टी संगठन र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सदाझैं सक्रिय भूमिका निर्वाह गर्नुहुन साथीहरूलाई अनुरोध छ ।

