
काठमाडौं । सिस्नेखोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार नागढुंगा शुरुङमार्ग निर्माण आयोजनाको कार्यालय तोडफोड गरेका छन् ।
‘पहिले हामीलाई खानेपानी दिने गरि सम्झौता भएको थियो । तर, आयोजनाले हाम्रो मागलाई बेवास्ता गर्दै आएपछि हामीले विरोध गरेका हौँ,’ एक स्थानियले भने,‘अब हामीले प्रतिरोध गर्नुको विकल्प छैन । आयोजनाका कारण हामीले पानी पिउन पाएनौँ ।’
दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए । तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिवद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का भाइकृष्ण तामाङले बताए ।
आक्रोशित स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करिव १ दर्जन झ्यालका सिसाहरूमा फुटेका छन् । आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन भएको वडा नम्बर १ का अध्यक्ष गोपी सुर्खेतीले बताए ।आन्दोलनकारीले कार्यालयको सिसा तोडफोड गरेपछि महानगरीय प्रहरी वृत्तको टोली परिचालन गरिएको छ ।










