
धादिङ । धादिङ जिल्लामा चैत्र २५ गते देखि बैशाख ३ गते सम्म १ लाख १० हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङमा १५ महिना पुगेका र १५ वर्ष ननाघेका सबै बालबालिकाका टाईफाईड विरुद्धको खोप लगाउन ६१६ वटा खोप केन्द्रहरु तय गरिएको स्वास्थ्य कार्यालयका श्याम पोखरेलले बताए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिईदै आएको भए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको बताए । उनले अहिले खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको बताए ।
टाइफाइ रोग भनेको के हो ?
टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।
यो रोगको लक्षण के के हुन् ?
उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिव्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ । कसैकसैलाई पेट दुख्ने, पखला लाग्ने , वाकवाकी लाग्ने , भोक नलाग्ने, शरीरमा रातो विमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ । यो रोगको संक्रमणबाट केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्वन्धी जटिलता समेत देखा पर्न सक्छन् ।
