नेपाल र पीएनजी बीच आज फाईनल

Avatar photo
Dhadingpost
चैत्र २१, २०७८

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

गत वर्ष मलेसिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि पनि नेपालले जितेको थियो । नेपालले लिग चरणका चार खेलमानै जित हात पारेको थियो । पीएनजी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि जित्ने सोचमा हुनेछ । पीएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेट रनरेटले पछि पार्दै फाइनलमा पुगेको थियो ।

नेपाललाई घरेलु मैदान र समर्थकले गर्दा थप फाइदा हुनेछ । पीएनजीले नेपालसँगको दुई ओडिआई सिरिजमा क्लिनस्विप गरेको थियो । नेपाल त्यसको बदला लिने सोचमा हुनेछ । नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो । मलेसियासँग पहिलो खेलमा १५ रनले स्तब्ध बनेको पीएनजीले दोस्रो खेलमा ८ विकेटको सानदार जितका साथ फाइनलमा स्थान बनाएको हो ।

नेपालले पछिल्ला दुई इनिङमा २ सय माथिको योगफल बनाएको छ । दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल ब्याटिङमा उच्च लयमा छन् । दीपेन्द्रले पछिल्लो खेलमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । टि२० सिरिजमा दीपेन्द्रले सानदार प्रदर्शन गरेका थिए । रोहितले पनि तेस्रो नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फाइनलमा उच्च लयमा रहेका यी दुई ब्याटरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ ।

युवा स्टार आदिल अन्सारीले तल्लोक्रममा विष्फोटक अन्त्य गर्दै आएका छन् । ओपनर आसिफ शेख र कुशल भुर्तेल भने ठूलो इनिङ खेल्नबाट चुक्दै आएका छन् । मलेसियासँग विश्राम दिएका सोमपाल कामी टोलीमा फर्किनेछन् । तीव्र गतिका बलरमा करण केसी, सोमपाल र अभिनाश बोहरा हुनेछन् ।

करणले पीएनजीविरुद्ध दोस्रो खेलमा ह्याट्रिक सहित ५ विकेट लिँदै नेपालको जित सहज बनाएका थिए । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् ।

मलेसियाले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा टोनी उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको विष्फोटक इनिङ खेलेका थिए । कप्तान असाद भालाले ओपनिङ गर्दै ५१ बलमा ७४ रनको इनिङ खेलेका थिए ।

भाला र उरा लयमा फर्किनु पीएनजीको लागि प्रमुख सकारात्मक पक्ष हो । मध्यक्रमका चार्ल्स अमिनीले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । अमिनी ओडिआई सिरिजका सर्वोत्कृष्ट खेलाडी हुन् । अमिनीले नेपालसँग दोस्रो खेलमा ६२ रनको इनिङ खेलेका थिए । नोर्मन भानुआ पीएनजीका प्रमुख हतियार हुन् । टियुको ब्याटिङ सहयोगी पिच र छोटो बाउन्ड्रीको उनले लगातार फाइदा उठाउँदै आएका छन् ।

भाला, अमिनी, उरा र भानुआ पीएनजीका प्रमुख हतियार हुन् । पीएनजीको बलिङ आक्रामण भने कमजोर छ । त्यसको नेपालले भरपूर फाइदा उठाउन सक्नुपर्छ । नेपाललाई घरेलु मैदान सामु सम्हाल्लिएर खेल्नुपर्ने हुन्छ। पीएनजीलाई गुमाउनु केहि छैन । पीएनजी उत्कृष्ट प्रदर्शनमा साथ टि२० सिरिज पनि जित्न चाहन्छ ।