
काठमाडौं । घरेलु टोली नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको फाइनमा पुगेको छ । सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गर्दै नेपालले सोमबार फाईनल पपुवा न्यू गिनीसँग खेल्ने भएको हो ।
शनिबार २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभर ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । उनले २६ बलमा ९ चौका प्रहार गरे । कमलसिंह ऐरीको बलमा भिरनदिपले फ्लिक गरेको बल डिपमिड विकेटमा आसिफ शेखले क्याच गर्दा भिरनदीप अर्धशतक बनाउन ३ रनले चुके ।
यता, ओपनर जुबाईदी जुल्कफ्ले कमलको बलमा डक भए । कप्तान आहमद फैजले ३१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन बनाए । सेइद अजिजले १७ रन बनाए भने शर्भिन मुनियडी १ रनमा रन आउट भए । मुहमद अमिरद १ रन बनाएर स्टम्पिङ भए । मुहमद सेहदतले ८ र ऐनोल हफिजले १८ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । कमलसिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए । कुशल भुर्तेलले टी२० करिअरमा पहिलो बलमा पहिलो विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो ।
नेपालका लागि दीपेन्द्रले सर्वाधिक ११० रनसहित अविजित रहे । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए । दीपेन्द्रले सैद अजिजलाई अन्तिम ओभरको चौथो बलमा स्टेटमा सानदार छक्का प्रहार गर्दै शतक पूरा गरे ।
उनी नेपालबाट टी२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि-२० आईमा शतक प्रहार गरेका थिए । यसअघि दीपेन्द्रको टी-२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो ।
यस्तै, रोहितकुमार पौडेलले ५१ रन बनाए । उनले ३४ बलमा ५१ रन बनाए । रोहितको टी-२० आईमा यो पहिलो अर्धशतक हो । तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । रोहित मोहम्मद आमिरको बलमा डिपमिड विकेटमा क्याच भएका थिए ।
त्यसअघि आसिफ सेख १८ र कुशल भुर्तेल १२ रनमा आउट भए । यता, युवा ब्याटर आदिल आलमले १४ रन बटुले । मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।
