धादिङको हिमालय सरस्वती मतदान स्थलमा ४१८ जना मात्रै मतदाता

Avatar photo
Dhadingpost
चैत्र १८, २०७८

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले विहिबार धादिङ जिल्लाको १ सय ९ वटा मतदान स्थल र यी स्थानमा रहेका मतदान केन्द्रको सूची सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार धादिङमा १ सय ९ वटा मतदान स्थल र ३ सय ३ मतदान केन्द्र रहनेछन् ।

धादिङको १०९ मतदान स्थल मध्य सबै भन्दा कम मतदाता रुबीभ्यालीको हिमालय सरस्वती आधारभुत विद्यालय खादिङ मतदान स्थलमा रहेको पाईएको छ । यस मतदान स्थलमा एक मतदान केन्द्र रहने छ भने ४१८ जनाले मात्रै मतदाता रहेका छन् ।

यस्तै धादिङमा सबैभन्दा धेरै मतदाता भएको मतदान स्थल नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ माध्यामिक विद्यालय मतदान केन्द्र रहेको छ । यस मतदान स्थलमा ४ मतदान केन्द्र रहने छ भने ४२५५ जना मतदाता रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा ११ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम नेत्रावती डबजोङमा ५ मतदान स्थल १४ मतदान केन्द्र र खनियाबास गाउँपालिकामा ५ मतदान स्थल र १२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै सिद्धलेकमा ७ मतदान स्थल र २४ मतदान केन्द्र, रुबीभ्यालीमा ८ मतदान स्थल र १२ मतदान केन्द्र, बेनीघाट रोराङमा १० मतदान स्थल र २४ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी धुनीबेशीमा ९ मतदान स्थल र २८ मतदान केन्द्र, थाक्रेमा ११ मतदान स्थल र ३० मतदान केन्द्र, त्रिपुरासुन्दरीमा ८ मतदान स्थल र २४ मतदान केन्द्र, ज्वालामुखीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र रहेको छ । गल्छीमा ८ मतदान स्थल र २३ मतदान केन्द्र, गजुरीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र, गंगाजमुनामा ७ मतदान स्थल र २० मतदान केन्द्र तोकिएको छ ।

धादिङमा मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेकोे छ । यसमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ मतदाता छन् । धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन् ।

देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ ।त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् । आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।

x