धादिङका ६ खेलाडी बागमती प्रदेशबाट राष्ट्रिय छनोट खेल्ने

Avatar photo
Dhadingpost
चैत्र १६, २०७८

धादिङ । धादिङ जिल्लाका ६ जना तेक्वान्दो खेलाडीहरुले बागमती प्रदेशबाट राष्ट्रिय टिमका लागि छनोट खेल्ने भएका छन् । बागमती प्रदेश स्तरीय १३ वटा जिल्लाको छनोट खेलबाट धादिङका ६ जना राष्ट्रिय छनोट खेलका लागि छनोट भएका हुन् ।

राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औँ संस्करण चैत १८ र १९ गते काठमाडौँमा हुँदैछ । नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार उक्त राष्ट्रिय छनोट प्रतियोगिताका लागि बागमती प्रदेशबाट छनोट भएका धादिङका ६ जना नै खेलाडीहरु बिहिबार काठमाडौं पुग्ने छन् ।

बागमती प्रदेशबाट खेल्न लागेका धादिङ ६ जना खेलाडी
महिला जुनियर तर्फ
सुप्रिमा बजगाई ४४ केजी
पुरुष जुनियर तर्फ
धनबहादुर गुरुङ ४८ केजी
पावल तामाङ ५५ केजी
रुपेश तामाङ ६३ केजी
पुरुष सिनियर तर्फ
अभिषेक डल्लाकोटी ५५ केजी
प्रविण तामाङ ७४ केजी

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिव तीन सय खेलाडीको सहभागिता रहने छ जसमा बागमती प्रदेशको प्रतिनीधित्व गर्दै धादिङका ६ जना खेलाडीहरुले खेल्ने छ ।

प्रदेश छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट र उदीयमान ४२ खेलाडीलाई प्रतियोगितामा सहभागि गराईनेछ । प्रतियोगितामा सिनियर र जुनियरमा गरी कूल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका सदस्य एवं प्रतियोगिताका संयोजक राम गिरीले बताए । गिरीका अनुसार सिनियरको पुरुषरमहिलामा आठ आठ गरी १६ स्पर्धा समावेश छन् । जुनियरको पुरुषरमहिलामा पाँच पाँच गरी १० स्पर्धामा खेल हुनेछ ।

नेपाल तेक्वान्दो संघले आयोजन गर्ने यस प्रतियोगिता सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने बताईएको छ । यस प्रतियोगिताबाट नेपाल तेक्वान्दो संघले राष्ट्रिय टिमका लागि खेलाडी छनोट गर्ने छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ ।