पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित

Avatar photo
Dhadingpost
चैत्र ८, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भएका हुन् ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो । दशककै उत्कृष्ट खेलाडी बनेका पारसले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।

पारसले पछिल्लो एक दशकमा आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई कठिन परिस्थितिबाट अगाडि बढाउँदै २०१४ मा ऐतिहासिक टि२० विश्वकप खेलाएका थिए । उत्कृष्ट प्रदर्शनका साथ हङकङ र अफगानिस्तानलाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो । त्यो विश्वकपमा पारसको कप्तानी र प्रदर्शन दुवे सानदार थियो । विश्वकप नेपाली क्रिकेट मात्र नभएर खेलकुदले नै पाएको सर्वाधिक ठूलो सफलताका रुपमा मानिन्छ ।