
धादिङ । चितवनमा जारी प्रथम बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा धादिङले काठमाडौंलाई ४ विकेटले पराजित गर्दै इतिहास रचेको छ । आधिकारीक प्रतियोतियोगितामा घरेलु क्रिकेटको उदयीमान टोली धादिङले काठमाडौंलाई पहिलो पटक हराउँदै ऐतिहासिक जित निकालेको हो ।
चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगमा निर्माणधिन गौतम बुद्ध रंगशाला नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । काठमाडौंका लागि ओपनर रविन जोशीले ४१ बलमा ९ चौका र ३ छक्कासहित ६८ रनको उत्कृष्ट सुरुवात दिलाए । सम्राट भुषालले ३३ बलमा ७ चौकासहित ४४ रन बनाए ।
पहिलो विकेटका लागि ओपनर रविन र सम्राटले मात्र १२ ओभरमा १ सय २९ रनको विष्फोटक सुरुवात गरेका थिए । तर त्यसपछिका ब्याटर नचल्दा विशाल योगफलबाट चुकेको थियो । सुमन २१ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । धादिङका सन्देश सापकोटाले २ विकेट लिए । कौशल रुपाखेती, उज्वल थापा, रुपेश भुजेल र अमृत थापाले १–१ विकेट लिए ।
१ सय ८२ रनको बलियो लक्ष्य धादिङले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । धादिङको जितमा युवा ब्याटर अमृत थापाले ५२ बलमा १३ चौका र २ छक्कासहित ८३ रनको विजयी इनिङ खेले । ओपनर कौशल रुपाखेती १७, अनुभवी खेलाडी उज्वल थापा २९, स्वपनील अधिकारी १२, आरम्भ तिमिल्सिना १३ र कप्तान श्याम त्रिपाठ्ठीले ४ रन बनाए ।
काठमाडौंका राजन जि.सी. ले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । आरियो पौाडेलले २ र सुमनले १ विकेट लिए । पहिलो खेलमा धादिङले रसुवालाई ९ विकेटले हराएको थियो । धादिङले आइतबार फाइनल प्रवेशका लागि काभ्रेसँग खेल्नेछ । प्रतियोगितामा बागमती प्रदेशका १२ जिल्लाको सहभागीता छ । फाइनल सोमबार हुनेछ । हाम्रो खेलकुदबाट
