धादिङको नीलकण्ठ मावि प्रविधिमैत्री पठनपाठनमा अब्बल

Avatar photo
Dhadingpost
चैत्र ३, २०७८

धादिङ । बाहिरबाट हेर्दा विद्यालय भवन जति आकर्षक र व्यवस्थित लाग्छ, भित्र कक्षाकोठा र विद्यालयको वातावरण पनि उत्ति नै शिक्षणमैत्री छ । प्रविधिमैत्री पठनपाठन र नियमितजसो हुने अतिरिक्त क्रियाकलापले थप ज्ञान आर्जन गर्न सहज रहेको विद्यार्थीको अनुभव छ ।

सीसीटीभी क्यामराबाट निगरानी, शिक्षकहरूका लागि डिजिटल हाजिरी, इलेक्ट्रिक सूचना पार्टी, पठनपाठनमा प्रविधिको अधिकतम प्रयोग र प्राविधिक विषयको पढाइले पनि सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ माध्यमिक विद्यालय विद्यार्थी र अभिभावको रोजाइमा छ ।

उत्तरी धादिङको खनियाबासबाट सदरमुकाम झरेका रमेश तामाङ कक्षा ११ मा इन्जिनियरिङ विषय पढिरहेका छन् । जिल्लाभित्रै आफूले चाहेको विषय पढ्न पाउँदा तामाङ दंग छन् । ‘यसअघि प्राविधिक विषय पढ्न काठमाडौं नै धाउनुपर्थ्यो, अहिले आफ्नै ठाउँमा पढ्न पाइएको छ,’ उनले भने, ‘पढ्न पनि पाठ्यपुस्तकको मात्रै भर थियो, नबुझेको शिक्षकसँग सोध्नुपर्थ्यो, अहिले प्रविधिले गर्दा धेरै कुरा इन्टरनेटबाट खोज्न पाएका छौं ।’

विद्यालयका सबै कक्षाकोठामा प्रोजेक्टर जडान गरिएको छ । शिक्षकलाई ल्यापटप उपलब्ध गराइएको छ । पढाइलाई बल पुग्ने थप सामग्री शिक्षकले गुगलमा सर्च गरेर देखाउँछन्, कहिले युट्युबमा राखिएका भिडियो देखाइदिन्छन्, विद्यार्थीले त्यसैको सिको गर्छन् । किताबी ज्ञान मात्र होइन, विश्व परिवेशमा घटेका नयाँ–नयाँ विषयलाई इन्टरनेटमार्फत खोजेर ज्ञान दिने गरेका छन् । तामाङले भने, ‘पहिले पाठ्यक्रममा आधारित भएर मात्रै पढाइ हुन्थ्यो, खासै रुचि राख्दैनथ्यौं, अहिले प्रविधि प्रयोग गरेर श्रव्य–दृश्य सामग्रीमार्फत पढ्न पाएका छौं ।’

विज्ञान र प्रविधिको प्रयोग गरेर शिक्षण क्रियाकलाप सञ्चालन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । शिक्षा, व्यवस्थापन संकायको अलावा इन्जिनियरिङ, विज्ञान, कानुन संकायको पढाइ पनि हुन्छ । प्रोजेक्टरका माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउँदा छिटो सिक्ने गरेको विद्यालयमा इन्जिनियरिङ अध्यापन गराउने शिक्षक रेनु श्रेष्ठको अनुभव छ ।

विज्ञान, गणित र भाषाका प्रयोगशाला स्थापना गरिएको छ । बाल कक्षादेखि नै अंग्रेजी र नेपाली माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीको अध्ययनका लागि ७० वटा कम्प्युटर छन् । मल्टिमिडियामार्फत अध्ययन–अध्यापन र सिकाइका कारण विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको उनको भनाइ छ । कक्षाकोठा र बाहिरी वातावरणको निगरानी विद्यालयमा राख्न ६० वटा सीसीटीभी क्यामरा जडान गरिएको छ । यसको निगरानी प्रधानाध्यापक धुव्र अधिकारीले गर्छन् ।

विद्यालयमा १ सय ३ जना शिक्षक कार्यरत छन् । उमेरले पाका शिक्षकलाई नयाँ प्रविधिअनुसार अघि बढ्न केही समय अप्ठ्यारो भए पनि तालिम दिएर पोख्त बनाइएको अधिकारीले बताए । ‘पठनपाठन सुरुदेखि नै राम्रो थियो । अब त सरकारले नै नमुना विद्यालय घोषणा गरिदिएको छ । यसले विद्यालयको छविप्रति सकारात्मक प्रभाव पारेको छ,’ उनले भने ।

पहिला विद्यालय आउनै नमान्ने विद्यार्थी अहिले नियमित कक्षामा उपस्थित हुने गरेका उनले सुनाए । सामुदायिक विद्यालय भन्नेबित्तिकै अंग्रेजी र प्रविधिमा कमजोर हुन्छन् भन्ने बुझाइलाई नीलकण्ठ माविले गतिलो जवाफ दिएको छ । ‘आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने भन्दा नाक खुम्च्याउने अभिभावक अहिले बोर्डिङ स्कुल छोडेर यहीं पढाउन ल्याउँछन्,’ उनले भने । मल्टिमिडियाद्वारा पठनपाठन हुन थालेपछि अब सामुदायिक विद्यालयका विद्यार्थी सक्षम र पढाइमा तेजिला भएको अभिभावक वासु दुवाडीले बताए ।

अहिले पालिकाहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विभिन्न कार्यक्रम गरिरहेका छन् । त्यसले पनि सामुदायिक विद्यालय सबल बन्दै गएका हुन् । तर, प्रविधिको व्यवस्था गरे पनि दक्ष शिक्षक नहुँदा पठनपाठनमा समस्या हुने गरेको विद्यार्थीको गुनासो छ । सरिता श्रेष्ठको यो समाचार कान्तिपुरबाट