धादिङ सहित ८ जिल्ला अस्पतालका अध्यक्षको पुनर्बहाली

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७८

धादिङ । सर्वोच्च अदालतको अल्पकालीन आदेशले एक महिना अघि हटाइएका बागमती प्रदेशका ८ जिल्लाका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पुनर्बहाली भएका छन् ।

प्रदेश सरकारले धादिङ अस्पतालको अध्यक्षमा महेन्द्र धमलालाई हटाई माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य दिपक विश्वकर्मालाई अध्यक्षमा नियुक्ती दिएको थियो । तर अस्पतलको आदेश सँगै विश्वकर्माले पदभार ग्रहण गर्न पाएनन् भने धमलाले पुन पदभार ग्रहरण गरेका छन् ।

बागमती सरकारको स्वास्थ्य मन्त्रालयले गत माघ २१ गते प्रदेशभित्रका ८ अस्पतालका अध्यक्षलाई बर्खास्त गरी नयाँ अध्यक्ष नियुक्त गरेको थियो । आफू बहाली छँदै हटाएर अन्याय गरेको भन्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, बागमती सरकारको स्वास्थ्य मन्त्रालय लगायतलाई विपक्षी बनाइ सर्वोच्चमा निवेदन दिएका थिए । उनीहरुको निवेदनउपर सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजालसले विपक्षको नाममा अल्पकालीन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘वाग्मती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको मिति ०७८ माघ १८ गतेको निर्णय र सोही मिति २१ गतेको पत्रसमेत यथास्थितिमा राखी कार्यान्वयन नगर्नू/नगराउनु तथा निवेदकलाई यथावत् काम गर्न भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) को खबमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ पक्ष र विपक्षलाई छलफलका लागि फागुन ३० गते पेसी तोकिएको छ । उनीहरूको पदावधि १० महिना बाँकी छ ।