आजदेखि ए डिभिजन लिगको दशौं चरणका खेल

Avatar photo
Dhadingpost
माघ २८, २०७८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणका खेल आजदेखि हुँदैछ । यस चरणको पहिलो खेलमा रेलिगेशन जोनमा रहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबसँग शुक्रवार दिउँसो १ बजे प्रतिस्पर्धा गर्दैछ । दुवै टोली रेलिगेशनबाट जोगिन स्पष्ट तीन अंकको खोजीमा हुनेछन् । खेलअघि बिहीवार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन् ।

तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भएजस्तै आफ्नो टोली रेलिगेशनबाट बच्न तीन अंक आवश्यक भएको प्रतिक्रिया दिएका थिए । ब्रिगेड ब्वाइजका प्रशिक्षक समीर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जितबाहेकको विकल्प नभएको बताएका छन् ।

शुक्रवार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी र जावलाखेल क्लबबीच प्रतिष्पर्धा हुनेछ । खेल अपराह्न पौने ५ बजे हुनेछ । मनाङ मर्स्याङदी क्लबभन्दा दुई अंकले पछि रहेको आर्मी पनि शीर्ष तीनभित्र अटाउने रणनीतिका साथ मैदान उत्रँदैछ । लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ ।