नेपालद्वारा मरिसस पराजित

Avatar photo
Dhadingpost
माघ १५, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो ।

नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् ।

पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् । यसैगरी सुनिल बलकाे फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएकाे थियाे ।

नेपालले दाेस्राे हाफमा थप दुई गाेल गर्ने अवसर गुमाएकाे थियाे । अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठकाे हेडर माेरिससका गाेलकिपर कप्तान केभिनले बचाए । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।