धादिङको अन्नपूर्ण क्वारिजलाई १ लाख मात्रै जरिवाना

Avatar photo
Dhadingpost
माघ ११, २०७८

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमारामा चुनखानी संचालन गरि रहेको अन्नपूर्ण क्वारिजलाई छाविन समितिले १६ करोड ६८ लाख क्षतिपूर्ति भराई असुल उपर गराउन सिफारिस गरे पनि सरकारले १ लाख लिएर छुट गराईएको पाईएको छ ।

अनुमतिभन्दा २६ लाख टन बढी चुनढुंगा उत्खनन गरेर राज्यलाई सवा अर्ब रुपैयाँ राजस्व क्षति पुर्‍याउने धादिङको अन्नपूर्ण क्वारिज सहित नौ उद्योगलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्देशनलाई समेत लत्याएर खानी तथा भूगर्भ विभागले १ लाख जरिवानामै उन्मुक्ति दिइएको खुलेको छ ।

अख्तियारले सिमेन्ट उद्योगहरूले क्षेत्राधिकारबाहिर गएर अनुमतिभन्दा अधिक उत्खनन गरेकाले तत्काल दोहन रोक्न र कारबाही गर्न विभागलाई २५ जेठ ०७७ मै निर्देशन दिएको थियो । समितिले पाल्पाको सिद्धार्थ मिनरल्स प्रालिसँग ४९ करोड ४५ लाख, सिन्धुली र उदयपुरको सीमामा रहेको मारुती सिमेन्ट लमिटेडसँग २० करोड ५१ लाख, धादिङको अन्नपूर्ण क्वारिजसँग १६ करोड ६८ लाख र पाल्पाको सर्वाेत्तम सिमेन्टसँग १२ करोड ५५ लाख असुल गर्न सिफारिस गरेको थियो । त्यस्तै, ललितपुरको युनाइटेड सिमेन्टसँग नौ करोड ६९ लाख, रोल्पाको सोनापुर आयल एन्ड मिनरल्स प्रालिसँग ६ करोड ९९ लाख, पाल्पाको डोलामाइट चुनढुंगा प्रालिसँग पाँच करोड ४३ लाख, पाल्पाकै कञ्चन क्वारिजसँग तीन करोड नौ लाख र उदयपुरको उदयपुर मिनरल्स टेक प्रालिसँग एक करोड ७० लाख क्षतिपूर्ति भराउन भनेको थियो ।

खानी विभागले आफ्नै प्राविधिक छानबिन समितिको निष्कर्षसमेत उल्ट्याउँदै अख्तियारको निर्देशनविपरीत नौ उद्योगलाई एक–एक लाख जरिवाना मात्रै गरेर उन्मुक्ति दिएको थियो । तत्कालीन उद्योगमन्त्री लेखराज भट्टको दबाबमा विभागले यस्तो निर्णय गरेको थियो । विभागले नै गठन गरेको छानबिन समितिको सिफारिस तथा आफ्नो निर्देशनसमेत अटेर गर्दै खानी तथा भूगर्भ विभागले सवा अर्ब लुट गरेका उद्योगहरूलाई एक–एक लाख जरिवाना गरेर उन्मुक्ति दिएपछि अख्तियारले पुनः छानबिन गरेर मुद्दा चलाउने अन्तिम तयारी गरेको छ ।


धादिङको अन्नपूर्ण क्वारिजले संचालन गरेको चुनखानीले बेनीघाटकै जवाङ र जोगिमारा जोखिममा परेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । अहिले सरकारको निति नियममा रहेर उत्खनन् नै गरेपनि डाँडामा रहेका बस्तिहरु प्रत्यक्ष प्रभावित बनेको उनीहरुको भनाइ छ । अहिले यस कम्पनीले ५ वटा एक्साभेटर, दुइटा भाडामा गरी ७ वटा एक्साभेटर, भाडामा एउटा डोजर, ८ वटा ट्रिफर, करिव ३० जना कर्मचारीलगाएर चुनढुङ्गा उत्खनन् गरि रहेको छ ।

एउटा ट्रिफरले खानीबाट तल गोदामसम्म दैनिक २० टिप गर्छन् । ८ वटाले प्रतिदिन करिव १५० टिप गर्छन् । खानीबाट निकालेको चुन अन्नपूर्ण क्वारिज प्रा।लि। ले केजीको हिसावले विक्रि गर्छ। उक्त चुन कम्पनीको भैरहवामा रहेको आफ्नै अर्को कम्पनी यूनिटेक र रिलायन्समा पठाउने गर्छ । त्यस्तै, अर्को हेटौडामा रहेको शिवम् र रिद्धिसिद्धि सिमेन्टमा समेत यसै खानीबाट चुनढुङ्गा जानेगरेको छ । यस विषयमा विस्तृत समाचार नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।