माओवादीले पदाधिकारी पुस २५ गते चयन गर्ने

Avatar photo
Dhadingpost
पुस १९, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गर्दै सकियो । अब पुस २५ गते अन्य पदाधिकारी चयनका लागि बैठक बस्ने बताईएको छ ।

आजको वैठक पछि पत्रकारहरु सँग कुरा गर्दै प्रचण्डले अब पुस २५ गते वैठक बस्छौं, अनि पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो चयन गरिने बताएका हुन् । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।

बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

यस्तै नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । आज केन्द्रीय समिति सदस्यहरुलाई माओवादी केन्द्रीय निर्वाचा आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।