जावलाखेलको जितका लागि धादिङका विपिन कँडेलको गोल

Avatar photo
Dhadingpost
पुस १२, २०७८

धादिङ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आजको खेलमा जावलाखेल युथ क्लबको जितका लागि धादिङका विपिन कडेल र अर्का खेलाडी निकोलस फर्नान्डेसले गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा जावलाखेलका लागि कडेल र फर्नान्डेस १-१ गोल गर्न सफल भए ।

५० औं मिनेटमा सब्सिच्युट मिडफिल्डर विपिन कँडेलले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका हुन् । ओनगुना जुनियरको क्रसलाई पासाङ लामाले क्लियर गर्न नसकेको बललाई विपिनले नियन्त्रणमा लिदै जाली चुमाएका थिए । विपिन ४६ औं मिनेटमा सुरज ज्यु ठकुरीको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको पाँचौ मिनेटमा विपिनले गोल गरेका थिए ।

जावलाखेलको यो लगातार दोस्रो जित हो । यसअघि जावलाखेलले पाँचौ चरणमा च्यासललाई १–० ले पराजित गरेको थियो । त्यसअघि मनाङ र पुलिससँग समान १–० ले पराजित जावलाखेलले मछिन्द्रसँग २–० को हार बेहोरेको थियो । बिबिसीसँग गोलरहित बराबरी खेल्दै जावलाखेलले लिगमा अंकको खाता खोलेको थियो ।

लिगमा दोस्रो जित निकालेको जावलाखेल ६ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि थ्री स्टार सातौ र एनआरटी आठौं स्थानमा रहेको छ । पराजित सातदोबाटो ६ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । तस्वीरः खेलपाटीबाट