
धादिङ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङ तोकिएको मिति भित्र आउने ४० देखि ४५ जना सम्मको हाइड्रोसिल अप्रेशन निशुल्क गर्ने जनाएको छ ।
शुक्रबार जिल्ला अस्पताल धादिङले हाइड्रोसिल अप्रेशन कार्यक्रम सम्बन्धी पत्रकार तथा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गर्दै अस्पतालका सूचना अधिकारी विक्रम विकले उक्त जनकारी गराएका हुन् ।
पत्रकारहरु सँग कुराकानी गर्दै अस्पतालका मेसु त्रिपुवन झाले अहिले धादिङ अस्पताल प्रविधिमैत्री बनेको छ । अत्याधुनिक प्रविधि मैत्रि धादिङ अस्पतालमा दैनिक २ जना गरी जेष्ठ सम्म ४० देखि ४५ सम्मको निशुल्क हाईड्रशिलको अप्रशन गरिने बताए । हाइड्रोसिल समस्याबाट ग्रसित बिरामीहरुलाई निशुल्क अप्रेशसन सँगै औषधि र अन्य लाग्ने शुल्कहरु समेत पूर्ण छुट हुने अस्पताल संचालक समितिका अध्यक्ष महेन्द्र धमलाले बताए ।
अण्डकोष सुन्नियको सबै हाइड्रोसिल नहुने तर देख्दा हाईड्रोशिल जस्तै देखिने समस्या हर्नियाको पनि हुने तर नेपाल सरकारले अहिले हाईड्रोशिलको मात्रै अप्रेशन गर्न कार्यविधि पठाएकोले हर्नियाको भने तोकिएको शुल्क लाग्ने उनले बताए ।
हाइड्रोसिल बारे जानकारी
दुइटा साँप्राका बीच मा झुण्डिएको थैलो लाई नेपालीमा अण्डाशय र अंग्रेजी मा scrotum भनिन्छ । यही अण्डाशय भित्र दुई तिर दुइटा डल्लाहरु हुन्छन् जसलाई हामी अण्डकोष भन्छौं । इनलाई अंग्रेजी मा testicles भनिन्छ । यही अण्डकोष कहिलेकाहीं पानी भरिएर सुन्निन्छ र अण्डाशय सामान्य भन्दा ठूलो देखिन्छ जसलाई हामी हाइड्रोसिल भएको भन्छौं । यो पुरुष लाई मात्र हुने समस्या हो । जुन अण्डहरु तल झुण्डिएका देख्छौं ती गर्भावस्था को सातौं महिना भन्दा अगाडी अण्डाशय भन्दा माथी पेट को तल्लो भाग मा रहेका हुन्छन् । गर्भको सातौं महिना मा ती तल अण्डाशय मा झर्छन् । तेसरी झर्दा बनेको पेरिटोनियम नाम को एक किसिम को पत्र अण्डकोष र केही पानी सँगै तल झर्दछ । एसरी तल झर्दा बनेको प्वाल पछि बिस्तारै बन्द भएर जान्छ । पेरिटोनियम भित्र को पानी पनि सोषिएर सकिन्छ । तर कहिलेकाहीं यही प्वाल बाट पानी झर्ने र अण्डकोष मा पानी भरिने समस्या देखा पर्न सक्छ ।
हाइड्रोसिल दुई प्रकारका हुन्छन्
कम्यूनिकेटिङ, Communicating : अण्डकोष तल झर्दा बनेको प्वाल राम्ररी बन्द नभएको अवस्था मा माथी बाट पानी चुहेर हुने हाइड्रोसिल लाई कम्यूनिकेटिङ हाइड्रोसिल भनिन्छ ।
ननकम्यूनिकेटिङ, Non-communicating : अण्डकोष तल झर्दा बनेको प्वाल बन्द भए पनि पेरिटोनियम पत्र भित्र पानी जमेर हुने समस्या लाई ननकम्यूनिकेटिङ हाइड्रोसिल भनिन्छ।
अण्डकोष सुन्निने सबै कारणहरु हाइड्रोसिल होइनन् । हाइड्रोसिल बाहेक अण्डकोष संक्रमण, हर्निया, ट्यूमर, चोटपटक, भ्यारिकोसिल, हात्तीपाइले आदि अनेक कारणहरु अण्डकोष सुन्निनु सँग जिम्मेवार हुने गर्छन् । अण्डकोष सुन्निनु का विभिन्न कारण मध्ये हाइड्रोसिल सबैभन्दा सामान्य कारण हो । यो अरु कारणहरु जस्तो गम्भीर समस्या होइन । पुरुषहरुले कुनै न कुनै समयमा हाइड्रोसिलका कारण अण्डकोष सुन्निएको महसूस गरेका हुन सक्छन् ।
बच्चाहरुमा हाइड्रोसिल हुने मुख्य कारण भनेकै अण्डकोष पेट बाट तल झरेको प्वाल पुनः खुलेर वा राम्ररी बन्द नभएर त्यहाँबाट पानी चुहुनु हो । यसलाई Congenital Hydrocele भनिन्छ । वयस्क मा वा अन्य उमेर समूह का पुरुषहरु मा पनि बच्चाहरु मा जस्तै पेरिटोनियम पत्र भित्र पानी जम्नाले हाइड्रोसिल हुने गर्दछ ।
लक्षण :
मुख्य लक्षण भनेकै दुवै तर्फ वा एकातर्फको अण्डकोष सुन्निएर अण्डाशय ठूलो र पोटिलो देखिनु हो । हाइड्रोसिलका कारण सुन्निएको अण्डकोषले गर्दा हिँडडुल गर्न सामान्य अपठेरो महसूस भए पनि यो दुख्ने वा टन्कने गर्दैन । छुँदा वा चलाउँदा पनि सामान्य अवस्थामा जस्तै कुनै पीडा दिँदैन । बढी ठूलो भयो भने हिंडडुल गर्दा अण्डकोष गह्रौं भए जस्तो आभास हुन्छ । यदि कम्यूनिकेटिङ प्रकारको हाइड्रोसिल रहेछ भने अण्डकोषलाई अँठ्याउँदा पानी पेट तिर सर्छ र केही समयका लागि आकार घट्न जान्छ । तेसैगरी एस प्रकारको हाइड्रोसिल दिउँसोमा केही ठूलो हुने साँझमा घट्ने गर्दछ । तर नन कम्यूनिकेटिङ प्रकारको हाइड्रोसिल दिनभरि नै समान आकारको रहन्छ ।
डाक्टरले सुन्निएको अण्डकोषलाई राम्ररी हेर्ने छन् र हलुका थिच्दा दुख्ने नदुख्ने पत्ता लगाउने छन् । टर्च बालेर हेर्दा प्रकाशको केही भाग वारपार भए नभएको पनि हेरेर केबल हाइड्रोसिल हो वा अन्य समस्या हो निदान गर्ने छन् । हर्निया वा ट्यूमरका कारण पो अण्डकोष सुन्निएको हो कि भन्ने शंका निवारणका लागि रक्त परीक्षण तथा अल्ट्रासाउण्ड गरेर हेर्न हेर्न सकिन्छ ।
हाइड्रोसिलको उपचार :
यदि भर्खरै जन्मेको बच्चा मा हाइड्रोसिलको समस्या भएको हो भने र यो सामान्य किसिम को छ भने वर्ष दिन सम्ममा यो विस्तारै हराएर जान्छ । तर यदि यो समस्या वयस्क पुरुषहरुमा भएको हो भने र सामान्य किसिमको छ भने छ महिना सम्ममा आफसेआफ निको हुन सक्छ । यदि हाइड्रोसिलका कारण पीडाको अनुभव भएको छ भने अथवा यो कम्यूनिकेटिङ प्रकार को हो भने शल्यक्रिया द्वारा भित्र जमेको पानी हटाउनु सँगै पानी चुहुने प्वाल बन्द गर्नुपर्ने हुन्छ । यो शल्यक्रिया गरेको केही घण्टा पछि नै बिरामी घर जान सक्ने हुन्छ । यदि नन कम्यूनिकेटिङ प्रकारको हाइड्रोसिलबाट पानी निकाल्नु पर्यो भने एक प्रकारको सिरिन्जको प्रयोग गरिन्छ ।

