
धादिङ मंसिर १८ । लायन्स क्लब अफ चितवन वाङमयद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला कवितामा ८८ जना प्रतिपर्धीहरुलाई उछिन्दै धादिङका विजय तामाङको कविता प्रथम भएको थियो ।
एड्भान्स एकेडेमी धादिङका अंग्रेजी विभागका प्रमुख तथा धादिङपोष्टको अंग्रेजी समाचार प्रमुख विजयी तामाङलाई आज चितवनमा एक कार्यक्रमको आयोजना गरि आयोजकले सम्मानित गरेको थियो । उक्त प्रतयोगितामा द्वितीय कल्पना अधिकारी, तृतीय गोविन्द गोपाल खतिवडा भएका छन् भने झापाका राजन सुवेदी सान्त्वना भएका छन् । विजेताहरूलाई क्रमशः २५०००।-, १५०००।- , १०००० र ५०००।- सहित प्रमाणपत्र, खादा र मेडल प्रदान गरिएको थियो ।
यस्तो थियो विजयको कविता
शीर्षक: हाम्रो पर्यावरण: हाम्रो सम्पदा
हामी धराको यस कोखभित्र
लिईरहेछौँ सुविधा विचित्र
पाइन्छ न्यानोपन सूर्यबाट
हुन् ओखती यी सब झारपात । १
खाद्यान्न दिन्छन् विरुवाहरूले
पानी – नदी ताल कुवाहरूले
हावा दियो जङ्गलले प्रशस्त
घुम्छौँ त्यसैले दिनरात मस्त ।२
जहाँ छ पर्यावरणीय कान्ति
मान्छेहरूको मनमा छ शान्ति
यो स्वर्ग भन्ने भ्रम कल्पना हो
पृथ्वी स्वयम् वैभव सम्पदा हो ।३
तथापि ठूला सपना सजाई
हिँड्दैछ मान्छे घर नै जलाई
ज्ञानी विवेकी पटमूर्ख हेर
काट्दैछ आफैँ रुखमा चढेर ।४
अमुल्य लाखौँ हरिया पहाड
बेचेर मान्छन् दुईरात चाड
मान्छे कुनै एक त्रिपाल किन्थे
मिल्ने भए यो नभ बेचिदिन्थे । ५
धुवाँ र धूलो मधुरो छ दृश्य
हुन्थ्यो सुनौलो कसको भविष्य ?
फोहोर खान्छिन् जबसम्म आमा
घट्दै गयो सिर्जनशीलतामा । ६
आगो लगायौँ वनमा परन्तु
बिर्सेर हामी पनि वन्यजन्तु
जसै धरा यो मरुभूमि बन्छ
मनुष्य के ले जिउँदो रहन्छ ?७
माटो र पानी जब स्वच्छ होला
फल्नेछ चाँदी सुन लाख तोला
मिथ्या कुराको पछि लाग्नुहुन्न
यो देश सिक्कासित साट्नुहुन्न ।८
