
धादिङ कात्तिक ३० । धादिङको गुम्दी–६ का ३७ वर्षीय शमसेर सुनार र सेर्तुङ–२ बोराङका ४४ वर्षीय प्रेम तामाङलाई प्रहरीले नक्कली सुन देखाएर सक्कली सुन लुटेर ठगी गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले ठगी गरिरहेको अवस्थामा तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरिएको जनाएको छ ।
यस्तो थियो घटनाक्रम
गोरखा बजार आएकी भीमसेन थापा गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई लुटपाट गर्ने उद्देश्यले केही व्यक्तिहरुले पछ्याउछन् । हरमटारी आसपास आइपुगेपछि एकजनाले सुन जस्तो देखिने पहेलो धातुको ढिक्का ती महिलाले देख्ने गरी भुइँमा खसाउँछ तर, खसेको थाहा नपाएको जस्तो नाटक गरेर त्यहाँबाट जान्छ ।
महिलाले सुन ठानेर त्यसलाई हत्तपत्त टिप्छिन् । त्यो क्रियाकलाप लुटपाट गर्ने गिरोहमध्येको अर्कोले हेरिरहेको हुन्छ अनि ती महिलालाई पछ्याउन थाल्छ । केही पर पुगेपछि ‘त्यो सुन खसाउने मान्छेलाई मैले चिनेको छु, केही भाग मलाई पनि दिनुस् नत्र म उहाँलाई भन्दिन्छु’ भनेर बार्गेनिङ गर्न थाल्छ ।
भीडभाड भन्दा अलि पर उनीहरु जान्छन् र रकमको बार्गेनिङ हुन्छ । ती महिलाले आफूले लगाएको सुनको एउटा गहना दिन्छिन् र भेटिएको नक्कली सुन सक्कली ठानेर घर लैजान्छिन् । केही दिनपछि बल्ल उनलाई थाहा हुन्छ त्यो भेटिएको सुन नक्कली हो भनेर ।२०७७ माघ १२ गते बजार आउँदै गरेकी गोरखा नगरपालिकाकी ६३ वर्षीया अर्की एक महिलालाई त्यही गिरोहले त्यसरी नै पछ्याउँछ ।
पहिलो घटनाजस्तै सुन जस्तो देखिने पहेलो धातुको ढिक्का खसाल्छन् अनि महिलाले टिप्छिन् । अनि अर्को व्यक्ति आएर त्यसरी नै बार्गेनिङ गर्छ । अनि ती महिलाले आफूले लगाएको एक तोला बराबरको सुनको रिङ दिएर नक्कली सुन बोकेर घर जान्छिन् । केही दिनपछि सुन नक्कली भन्ने उनलाई थाहा हुन्छ ।
नक्कली सुन देखाएर सक्कली सुन लुट्न पल्केको त्यो गिरोहले जिल्लामा उनीहरुलाई मात्र होइन अन्य व्यक्तिहरुलाई पनि त्यसरी नै ठगेको पाइएको छ । गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका अन्य दुई महिला पनि उनीहरुबाट पीडित छन् । सो समूहले बार्गेनिङ गरेर केही व्यक्तिसँग रकम लगेको छ भने कतिपयबाट सुनको गहना नै लिएको प्रहरीले जनाएको छ ।
