
धादिङ कात्तिक १९ । साँस्कृतिक झाँकी सहित र्याली निकालेर धादिङबेसीका नेवार समुदायले नोपाल सम्बत् मनाएका छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् न्हु दँ ११४२ भिन्तुना को अवसरमा नेवार समुदायले आफ्नो कला साँस्कृतिक झाँकी सहित धादिङबेसी पुछारबजारबाट सितलबजार सम्म र्याली निकालेका हुन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल सम्बत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरबताउँछन् । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।































