बहार लिएर आउनु तिहार

Avatar photo
Dhadingpost
कार्तिक १७, २०७८

फुलहरुको पर्व
रङ्गहरुको पर्व
दाजु र बहिनीको एउटा
अनुपम नाताको पर्व
एउटा सुन्दर ज्योती छर्ने पर्व
अनि धन र धान्यकी देवि
लक्ष्मीको अनुष्ठामा रम्ने पर्व
प्रत्यकको झ्याल ढोका ढक्ढकाउदै
बहार लिएर आउनु तिहार ..

धन हुनेलाई धनकै आभासमा
मन हुनेलाई मनकै आभासमा
एउटा आसाको किरण छर्दै
सु-सज्जित उज्यालाहरुको रौनक छर्दै
अनि आत्मा र भावनाका झन्कार बटुल्दै
एउटा मीठो
बहार लिएर आउनु तिहार….

उत्साहले झिलीमिली मनमा
मखमलि र गुर्धौली फूलका थुंगासंगै
आफन्तको मायांको बिच
देउसी भैलोको सुमधुरतामा
सप्तरंगी टिकाको सजाकट संगै
पिरको डोको बिसाई
खुसिको बहार लिएर आउनु तिहार ….

मनको मझेरिमा सुस्ताएका झन्कारहरु
फेरि एउटा उज्यालो संगै ब्युझाउदै
समग्रतामा शुभेच्छा र सुवास छर्दै
मखमलि र सयपत्रीको सुन्दर झुलाई लतार्दै
अनि अर्थहिन आयु नभै
सुन्दर जिवनको पर्याय बन्दै
एउटा नबिनतम बहार लिएर आउनु तिहार…

झिलिमिली बलेको बत्ती मुनिको
अँध्यारोपनलाई हटाउदै
बाध्यतामा बिदेशका गगनचुम्बी भवनहरुमा निसास्सिएका सपनाहरुलाई जगाउदै
दियोको प्रज्वलित ज्योति सरी
जलेको मनहरुलाई ब्युताउदै
प्लाष्टिकका मखमलीको फूलसरी
अप्राकृतिक सौन्दर्यमा रम्नेहरुलाई
मखमलिको महत्व बुझाउदै
सयपत्रीको सुगन्धमा हराएको स्मृतिहरुलाई
पुनर्जीवन दिदै एउटा
बृहत झन्कार बोकेर आउनु तिहार…

अराजकताको थैली फोडेर
अन्यायको जन्जिर बोकेर
कुसासनको सजाय भिरेर
भ्रस्टको अन्त गर्दै
न्यायको हिमायत बन्दै
सुसासनको बिगुल फुक्दै
सार्वभौम र शान्त नेपालको
आवाज बुलन्द गर्दै
बिकासको स्वर्णिम मुल फुटाउदै
एउटा नविनतम शक्ति लिएर आउनु तिहार…

सप्तरंगी टिकाको साथमा
मखमली र सयपत्रीको लालि पोत्दै
दुख, पिर र ब्यथा निर्मुल पार्दै
रोग भोक र शोकको अन्त गर्दै
आत्मिय आशिर्वादको साथमा
स्वास्थ्यको सन्देश छर्दै
सम्पन्नताको आभास बटुल्दै
अनि सुमधुरताको सिट्ठि फुक्दै
एउटा स्वर्गीय बहार लिएर आउनु तिहार …

स्वदेश तथा बिदेशमा रहनुभएका तपाईं सम्पुर्णमा महान पर्व शुभ दिपावली(तिहार) को हार्दिक मंगलमय शुभकामना ।