विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन धादिङको अध्यक्षमा किशोर रेग्मी चयन

Avatar photo
Dhadingpost
कार्तिक १०, २०७८

सुन्दर लामा
धादिङ कात्तिक १० ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलनबाटअध्यक्षमा किशोर रेग्मी चयन भएका छन् । भ्रष्टाचार, दलाल र माफियाका विरुद्ध सशक्त जुझारु युवा आन्दोलन, जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथो जिल्ला सम्मेलन, भन्ने मुल नाराका भएको उक्त रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

सम्मेलनका प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले यो देश बचाउने जिम्मा नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएकोले त्यसको अग्रमोर्चामा युवाहरुले भुमिका खेल्नु पर्ने बताएका छन् । हाम्रो लक्ष्य वैज्ञानिक समजावाद भएकोले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका निमित्त जनमतसंग्रहमा जानुको विकल्प नरहेको धारण व्यक्त उनले व्यक्त गरेका थिए ।

जिल्ला सम्मेलनमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा जिल्ला सदस्य सागरले युवाहरु देशको मेरुदण्ड भएकोले सक्रिय र सशक्त भुमिका खेल्नुपर्ने बताएका थिए । पुर्व जिल्ला सेक्रेटरी प्रवेशले शुभकामना मन्तव्य राख्दै युवा संगठन नेपालले नेपाल र नेपाली समाजको सुरक्षा गर्ने जुझारु संगठन भएको दावी गरेका थिए ।

सम्मेलन र सञ्चालन युवा संगठन नेपाल, धादिङका संयोजक अभयको अध्यक्षतामा भएको उक्त सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य अर्पण, जनपत्रकार संगठन नेपाल धादिङका अध्यक्ष तथा जिल्ला सदस्य सुन्दर, पार्टीका जिल्ला सदस्यहरु लेखबहादुर तामाङ, कृष्ण खतिवडा, धनबहादुर घले, मोहन घले, माइला गुरुङको आतिथ्यता रहेको थियो ।