धादिङमा फोटो प्रतियोगिता तथा फोटो प्रदर्शनी सम्पन्न

Avatar photo
Dhadingpost
अशोज ११, २०७८

धादिङ असोज ११ । पर्यटन दिवसको अवसरमा धादिङमा जिल्ला स्तरीय फोटो प्रतियोगिता तथा फोटो प्रतियोगिता सम्पनन भएको छ । फोटो पत्रकार संघ धादिङले आयोजना गरेको फोटो प्रतियोगितामा ५ विधाको उत्कृष्ट ५ फोटोलाई पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा दैनिक जनजीवन विधामा सुशील श्रेष्ठ काठमाडौं, पर्यटन विधामा लाला गुरुङ, महिला तथा बालबालिका विधामा सागर बस्नेत काठमाडौं, कला धर्म र सस्कृती विधामा अर्जुन श्रेष्ठ धादिङ र आर्थिक विधामा पुजा थापा धादिङ पुरस्कृत भए । विजेताहरुलाई नगद २० हजार, ट्रफी र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

प्रदर्शनीमा स्कटल्याण्डको एबरडीनमा रहेको जोन एम हेन्डरसन कम्पनीबाट सामग्री मगाएर नेपालको आफ्नै इञ्जिनियर किशोर नरसिंह राणाले डिजाइनमा बनाइएको पुलहरु मध्य धादिङको आँखुखोलामा बनाईएको झोलुङ पुलको विक्रम संवत् १९७९ सालमा खिचिएको फोटो, २०३४ सालमा खिचिएको गजुरीमा ग्रामिण विद्युत विस्तार कार्यक्रम देखि हाल सम्मका फोटोहरु राखिएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका, सिदलेक गाउँपालिका, धुवाकोट घर भई यूकेमा रहेका धन तामाङ, क्रिक रिसोर्ट, प्रेक्षा स्टुडियो लगायतलाई फोटो पत्रकार समुहले सम्मान गरेको थियो । साथमा एड्भान्स एकेडेमीमा विद्यार्थीहरले नृत्य प्रदर्शन समेत गरेका थिए ।

निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुह नेपालका अध्यक्ष प्रदिपराज वन्तको विशेष आतिथ्यता रहेको थियो । यस्तै राष्ट्रिय फोटो पत्रकार समुह नेपाल उपाध्यक्ष सहित कार्य समितिका सदस्यहरु, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, माओवादी केन्द्रका सह इन्चार्ज रामबहादुर भण्डारी, फोटो पत्रकार समुह बागमती प्रदेशका नारायण सिलवाल, पत्रकार महासंघ बागमती प्रदेशका सदस्य रामहरी गजुरेल, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, निवर्तमान अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्यता रहेको थियो ।