
संखुवासभा भदौ २१ । संखुवासभाको मादी नगरपालिका(१ उम्लिङमा हत्या गरिएका एकै परिवारका ६ जनामा ८४ वर्षीया वृद्धादेखि ७ वर्षीया नातिनीसम्म छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आज बिहान १० बजे उनीहरू मृत भेटिएका हुन् । एकाघरका उनीहरूको विभत्स ढंगले हत्या गरिएको चैनपुर इलाका प्रहरी कार्यालय संचार शाखाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईका अनुसार मृत भेटिएकाहरूमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षिय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्व रहेको सो घटनास्थलमा प्रहरी टोली पुगी अनुसन्धान शुरू गरिएको बताइएको छ ।
स्थानीय योगेन्द्रओझा घटना स्थल अवलोकन पछि भन्छन् , मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं । हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।
काका (तेजबहादुर) लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन् । उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ । उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ ।
