अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि खुशीयाली

Avatar photo
Dhadingpost
भदौ १५, २०७८

एजेन्सी भाद्र १५ । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकाको अन्तिम टोलीको बिदाईसँगै तालिवान समूहले खुशीयालीमा हवाई फायर र रातभर हल्ला गरेका छन् । अमेरिकी समूहले पूर्णरुपमा अफगानिस्तान छाडेपछि तालिवानीहरु खुशी भएका हुन् । अमेरिकाको उद्धार कार्यको अन्तिम दिन आज थियो । पूर्ण रुपमा तालिवान समूहले काबुल विमानस्थलमा पनि कब्जा जमाइ सकेको छ ।

‘विद्रोही’ समूह तालिबानले अमेरिकी सेना फिर्ताको माग गर्दै आएको थियो । अमेरिकाले पछिल्लो समय सेना फिर्ता लैजान थालेपछि तालिबानले ‘नाटकीय’ रूपमा अफगानिस्तानमाथि कब्जा जमाएको छ । सबै अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले तोप पड्काएर विजय उत्सव मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ।

सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए । अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जेनरल मकेन्जीले भने, हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ । जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जसअन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अल-कायदा षड्यन्त्रकारीहरूमाथि कारबाही भएको थियो ।

x