
धादिङ भाद्र ७ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङले सुत्केरी महिलाको मृत्युभए पछि पिडित परिवारलाई एक मुष्ट ४ लाख १० हजार राहात दिने सहमति गरेको छ ।
साउन २९ गते नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसोपानी निवासी कल्पना मगरलाई सुत्केरी गराएपछि थप उपचारको लागि छुट्टा छुट्टै एम्बुलेन्समा धादिङ अस्पतालले काठमाडौ पठाए सँगै कल्पनाको बाटोमा मृत्यु भएको थियो ।
यस घटनामा पिडित पक्षले अस्पतालको लापरवाहीले आफ्नो आफन्तको मृत्यु भएको भन्दै शव पुन जिल्ला अस्पताल नै ल्याई आन्दोलन गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयको रहोवरमा बसेको दुई पक्षिय छलफलमा अस्पतालले पिडित पक्ष मृतक कल्पना मगरको छोरी जेनिसा गुरुङलाई कक्षा १२ सम्म अध्ययन गर्दा लाग्ने खर्च स्वरुप एकमुष्ट ३ लाख ६० हजार र मृतक कल्पना मगरको काजक्रियाको लागि ५० हजार दिने गरि दुवै पक्षले सहमती गरेका हुन् ।
सहमति पत्रमा अस्पतालको पक्षबाट अस्पताल व्यबस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, मेडिकल सुपरिटेन्डेण्ट डा. त्रिभुवन चन्द्र झा र मृतक पक्षबाट श्रीमान शिव गुरुङ, माइतीतर्फबाट भोजबहादुर मगरले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
अस्पतालले भने उपचारको क्रममा लापर्वाही गरि उक्त महिलाको ज्यान गएको ले क्षेतिपुर्ति स्वरुप उक्त रकम दिईएको नभई मृतकको परिवार अत्यन्त आर्थिक कमजोर रहेकोले राहत स्वरुप उक्त रकम दिएको बताएको छ ।



