फर्सी र बरको फल

Avatar photo
Dhadingpost
भदौ ४, २०७८

सिद्धलेकका एक किसानले बेसीको मकैबारीमा फर्सी रोपेका रहेछन् । जहाँ एक ज्यादै ठुलो, हेर्दै अजङ्गको फर्सी फलेको रहेछ । सकि-नसकी खाङ्ग्रे डोकामा मिलाएर राखी ती किसान घर जाने उकालो बाटो नाप्दै थिए । जाँदाजाँदै थकाई लागेर बेल्टारको चौतारोमा उनी थचक्क बसे, अनि अलि मिलेको चिप्लेटी हेरेर उत्तानो परि सुतेछन् ।

बरको रुखमा मसिना फलहरू लागेका थिए । मनमनै किसानले सोच्यो- “भगवानको अलिकति पनि बुद्धि नै छैन, यति ठुलो बरको रुखमा यति मसिना फल, अनि त्यो जाबो फर्सीको लहरामा यति ठूलो फल । यस्तो पनि काहिँ न्याय हुन्छ ? भगवान अन्यायी छन् , भेदभावपूर्ण ब्यवहार गर्दछन् ।

म भगवान हुन पाए यो संसारमा कति कुरा मिलाउने थिए होला, संसार नै अर्कै अर्थात भनौं स्वर्ग जस्तै बनाईदिने थिए।” भनेर मात्रै के सोच्दै थिए, एउटा बरको फल झरेर निधारमै लागेर फुरौला उठाईदियो । अब भने उनले भगवानलाई चिने । बरको फल फर्सी जत्रै भएको भए के थाहा, यो संसारमा रहन्थे कि रहन्नथे भन्ने सोच्दै भगवानले बरको गेडा सानो बनाईदिएकोमा धन्यवाद दिदै उकालो लागे ।