
धादिङ साउन ३१ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले खोप केन्द्र सम्म जान नसक्ने जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका र दृष्टिविहीनलगायत दीर्घरोगीहरुलाई घर–घरमै गएर खोप सेवा उपलब्ध गराउन सुरु गरेको छ ।
सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्नेहरुलाई घर–घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिए सँगै धादिङको बेनीघाट रोराङले यो सुविधा दिन सुरु गरेको हो ।
न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार अशक्त, अपाङ्ग र दीर्घरोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरी घर–घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेश सँगै बेनीघाट रोराङले केन्द्रसम्म जान नसक्नेहरुलाई घर–घरमै गएर पहिलो डोज लगाई सकेकाहरुलाई आज ‘कोभिडशिल्ड’ को दोस्रो डोज दिएको हो ।




