
धादिङ असार ११ । रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित लापा स्वास्थ्य चौकीको पहलमा गर्भवती महिला माईली घलेलाई सुरक्षित प्रशुतीका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
हेली ल्याउन सहयोग गर्ने सहयोगीहरुलाई वडा अध्यक्ष धिरज तामाङले धन्यावाद दिँदै गर्भवती महिलाहरुलाई सुरक्षित प्रशुतीका लागि काठमाडौं लैजानु पर्ने भयो भने नि:शुल्क हेलिकप्टर उपलब्ध गराउने राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रशंसनिय रहेको बताए ।
सुमन घलेका अनुसार आज बिहान ८ बजे सुत्केरी महिला माईली घलेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरुको यसरी नै निःशुल्क हवाई उद्धार भइरहेको छ। यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय मिलाउने गरेको छ। यो कार्यक्रम शुरु भएको करीब दुई वर्षमा रुबीभ्याली गाउँपालिकाबाट मात्रै १७ जना बढी गर्भवती तथा सुत्केरीलाई हेलिकप्टरबाट उद्धार भएको छ ।

