
धादिङ असार ४ । धादिङको गजुरीका पहिरो पीडितले पुनरस्थापनाको आश्वासन पाएको एक वर्ष पुगि सकेको छ । संघ प्रदेश देखि पालिका सम्मका जन प्रतिनीधिहरुले तत्काल पुनरस्थापना गरि दिने आश्वासन दिएको एक वर्ष पुरा भएको छ । विगतको एक वर्ष देखि गजुरीका बाढी पिडितहरुले आश्वसनको भरमा चुहिएको त्रिपालमुनी जीवन गुर्जान वाध्य छन् ।
हरेक वर्ष नेपालमा बाढी पहिरो र डुवानले क्षति गर्छ । जनधनको क्षति भएपछि संघीय राजधानीबाट प्रधानमन्त्री, सभामुख, मन्त्री , सांसद लगायतका बिशिष्ठ व्यक्तिहरु हेलिकोप्टर लिएर घटनास्थल पुग्छन् । यसरी पुग्ने व्यक्तिहरुले पीडितलाई आश्वसन दिन कुनै कसुर राख्दैनन् । पीडितलाई तत्काल राहात र पुर्नस्थापनाको आश्वसन दिएर उनीहरु फर्किन्छन् । तर पीडितले वास्तविकतामा आश्वसन बाहेक केही पाउँदैनन् ।

यस्तै नियति भोग्नु परेको छ धादिङको गजुरीका पहिरो पीडितले । गतवर्षको वर्षादमा गजुरी वडा नम्बर २ स्थित बारहबिसेमा पहिरो गएर बस्ने ठाऊ चिरा–चिरा पर्यो । पहिरोले २१ परिवार विस्तापित भए । त्यतिबेला यी पहिरो पीडितलाई आश्वसनको आइरो आयो । कसैले राहात त कसैले पुर्नस्थापना र रोजगारी दिने सम्मका आश्वसन दिए ।
आश्वसन दिन कसैले केही बाँकी राखेनन् तर विस्तापित भएको एक वर्ष सम्म पनि पीडितले आश्वसन बाहेक केही पाएनन् । वितेको एक वर्ष कष्टपूर्ण जिवन गुजारेका बारहबिसेका पहिरो पीडितको अझै पनि पुर्नस्थापना हुन सकेको छैन् । सम्बन्धित निकायले अनेक बाहनामा पीडितलाई झुलाउँदै आएका छन् ।
गत वर्ष अस्थायी रुपमा गजुरी वडा नम्बर २ चेपाङटारीमा त्रिपाल र टहरा मा पहिरो पीडितलाई राखिएको छ । अहिले त्रिपाल र टहराबाट पानी चुहिन थालेको छ । गत फागुन चैतको हावाहुरीमा कष्टकर जीवन गुजारेका यी विस्तापितलाई वर्षा सुरुभएपछि फेरी निद्रा लाग्न छाडेको छ । पहिरो पीडितले गाउँपालिका लगायतका निकायमा गएर धेरै पटक आफ्नो समस्या सुनाएपनि हरेक पटक उही हुन्छ र पर्ख भन्ने बाहेक अरु केही हुन नसकेको पीडितको दुखेसो छ ।
बारहबिसे मात्र नभएर यहां गजुरी – २ नम्बर वडामा पर्ने रातामाटेमा पनि तीन घर पहिरोको जोखिममा परेका छन् । उनीहरुपनि गत वर्ष नै विस्थापित भएर समस्यामा परेका छन तर रातामाटेका विस्थापितलाई पनि अझै सम्म पुर्नस्थापना गरिएको छैन् ।
यसरी बाढी पहिरो पीडितलाई आश्वसन दिने तर पुनस्र्थापनाको पहल नगर्ने परिपाटी देशैभर छ । समयमा पुर्नस्थापना नभएका कारण पीडितले पाउने मानसिक र शारिरिक पीडा कति होला ? त्यो अनुमान गर्न पनि कठिन छ । पीडितलाई आश्वसन भन्दा राहात र तत्काल पुनरस्थापनाको खाँचो छ ।
