
जागिरकोको शिलसिलामा नुवाकोट आउनु पुर्व नै जसरी भए पनि गोसाइंकुण्ड पुग्ने मेरो अभिलाषा मृग तृष्ण जस्तै थियो । गोसाइकुण्ड रसुवा जिल्लामा पर्ने, रसुवा र नुवाकोट सिमाना जोडिएको जिल्ला भएकोले दुरीको हिसावले काठमाण्डौबाट धाउंदा भन्दा नजिक पर्ने भएकोले नुवाकोट आए पछि त्यो तृष्णा अझ बढेर गएको थियोे ।
गत वर्ष पनि कोरोना कहरका कारण मनसुवा पुरा गर्न सकिएको थिएन । खाने मुखलाई जुंगाले छेक्दैन भने झैं डर रुपी जुंगा पन्छाएर यसपाली भने कोरोनाको त्रास हुंदा हुुंदै पनि जाने निधो भयो र छ जनाको टोलि भएकोे हाम्रो समुह बैशाखको पहिलो हप्ता गोसाइंकुण्ड यात्राको लागि साथमा लैजानु पर्ने समानहरु न्यानो ज्याकेट, थर्मल, पानीका बोत्तल, छाता, चकलेट र केहि अदुवा लसुन तथा आवस्यक औषधी बोकेर प्रस्थान गरियो ।
विहान आठ बजे नुवाकोटको सदरमुकाम विदुरबाट विदा हुंंदै प्रस्थान गर्ने क्रममा विदुरबाट धुन्चे हुंदै रसुवागढी जोड्ने राजमार्ग संगै रहेको शुभघाट भन्ने स्थानमा राष्ट्र निर्माता पृथ्वी नारायण शाह र योध्दा काजी कालु पाण्डेको शालिक राखिने कुराले मेरोे राष्ट्रियता पनि छेवैको त्रिशुली बगे जस्तै यसरी नै अटुट रुपमा सबैमा बगिरहोस भन्ने लाग्यो ।
मैले नुवाकोटवासीलाई यस कामको लागि अन्तरआत्मादेखि नै नमन पनि गरें । यसरी नै अघि बढ्ने क्रममा वेत्रावती नदी पुग्नु २ कि मि अगावै बाटै नजिक बायां तर्फरहेको एतिहासिक २ वडे वडे ढुंंगामा नजर पुग्यो । विक्रम सम्वत १८४९ मा नेपाल चीन विच सन्धि हुंदा यही ढुंगामा बसेर गरिएको रहेछ । स्थानिय सरकारले यसलाई त्यति महत्वका साथ हेरिएको जस्तो लागेन । यसलाई प्रचार प्रसार गर्न सके स्थानिय पर्यटनमा केहि टेवा पुग्न सक्ने देखिन्थ्योे ।

नुवाकोट र रसुवा जिल्लाको सिमाना वेत्रावती नदी पार गर्दैे कालिकास्थानमा सांढे नौ बजेतिर चिया चमेना लिई रसुवा जिल्लाको सदरमुकाम धुन्चे प्रस्थान गर्यौं । वर्षौं देखिको अभिलाषा पुरा हुने उमंगमा वसन्तको कोकिलले अझ उर्जा थप्दै थियो । म माथि थपिएको उत्सुकतामा मनभरीकोे अभिलाषाले गाडीको कर्कस आवाज पनि वसन्तको पालुवामा रमाएको मेरो मनलाई सधैं झैं को कर्कश आवाजले डिष्टर्व गर्न सकेन । यस्तै मनभरिको खुल्दुली र सहकर्मी साथीहरुको तिलस्मी गफले धुन्चे पुग्दा मध्यान्नको बाह्र बजेको पत्तै भएन ।

मध्यान्हको खाना पछि केही बेर आराम गर्ने क्रममा त्यहांको वस्तु स्थिति पनि बुझियो । हामी समुन्द्र सतहदेखि १९५० मि माथि रहेछौंं । रसुवा जिल्ला, बाग्मती प्रदेशको १३ जिल्ला मध्ये सबै भन्दा कम वडा र कम जन संख्या तथा नगरपालिका नभएको जिल्ला हो । यसको सदरमुकाम धुन्चे हो ।
धुन्चेको स्थानिय पुरानो नाम ”टुङ्लांहाङ” हो जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिन्छ । त्यहि धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे ,रसुवा गढी हुंदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिने रहेछ । स्थानिय तामांग भाषामा भेडाचेंग्रालाई “र” र चरन क्षेत्रलाई ”सोवा” भनिदो रहेछ । त्यही “र” र ”सोवा” शब्द अपभ्रंस भएर “रसुवा” उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामाकरण रसुवा नै रहन पुगेछ । धुन्चेलाई पुर्व उत्तर दिशाबाट अंकमाल गर्दै त्रिशुली नदी छेवैवाट बग्दै थियो ।
त्यसको कल कल आवाजले स्वागत गीत गाइरहेको भान हुन्थ्यो । नियालेर हेरें । सायद पहिलोपटक भएर पनि होला मनमा कता कता अत्यास पनि लाग्यो । मनलाई सम्हालें । युध्दमा गएको सिपाही जस्तो, मिसन जसरी पनि पुरा गर्नु पर्छ भन्ने दहे मन बनाएंं । गन्तब्य तर्फ धुन्चेवाट करिव २ कि मि अगाडि सम्म हल्का गाडी जान सक्ने हुंदा ज्यानलाई थोरै भए पनि हल्का महशुस भएको पाएं ।
गन्तब्यमा त पुग्नु नै थियो । मन जति गरुंगो भए पनि पाइला दह्रो टेक्नु नै थियो । गाडीवाट ओर्लिए पछि प्रस्थानको शुभ साइतमा मोइवालबाटै भए पनि एक टेक लियौं । हाम्रो समूहमा हामी एक अर्काको सहारा त छदै थियौं, प्रत्येकको साथमा अर्को सहारा पनि थपयिो, त्यो थियो धुन्चेबाट प्रस्थान विन्दु भन्दा अलि पर किनिएको लठ्ठीको सहरा । कुनै वेला एउटा परिस्थिति यस्तो पनि आउंदोरहेछ, के प्राणी के निर्जिव साथ सबैको चांहिदो रहेछ ।
त्यहांबाट गफिंदै लाग्यौं गन्तब्य तिर । केहिबेरको हिंडाई पछि बगिरहेको त्रिशुलीमा अस्थाई पुल पार गरी पुर्व तर्फ मोडियौं.। हिउदको याम भएर होला, त्रिशुली, पुलको सहारा विना नै तर्न सकिने सानो नदीको रुपमा कलकल गरी बगिरहेको थियोें । त्यहांबाट केहि पर पुगे पछि महादेवको सानो मुर्ति सहितको पोखरी रहेछ । त्यसलाई मिनि गोसाइंकुण्ड भनिदो रहेछ ।
यो ठाउं गोसाईंकुण्ड पुग्न नसक्नेका लागि त्यहिं नुहाएर मनको सान्त्वना लिने ठाउं रहेछ । थोरै विश्राम पछि गन्तब्यतिर मोडिने क्रममा त्यहांवाट केहिबेर ढलानयुक्त गोरेटो बाटोको केहि तर्सो हिंडे पछि उक्लदैको मुख्य उकालोको विसौनीमा रहेको प्रतिक्षलयमा हामीले आफ्नै प्रतिक्षाको घडि केहि समय बितायौं ।
उकालो लाग्ने क्रम केहिवेरको विश्राम पछि फेरि शुरु भयो । अब ती गरुंगा पाइलाहरु जति चुलिदै गए उति ती टेकिएका ठाउंहरु दह्रो हुंदै गएको अनुभुति हुन थाल्यो । सहपाठीहरुको खुशी मिश्रित झल्किएको भावले पनि मेरो मन केही हल्का वनाएको अनुभुति हुन्थ्यो । हाम्रा पाइला जति अघि बढ्छ, हामी युध्द जित्दैै छौं जस्तो लाग्थ्यो ।
जीवन भनेको फूलै फूलको बीचै मात्र पनि हुनु हुंदो रहेनछ, कांडा बीच पनि फुल्न सक्नु पर्ने रहेछ, अनि दुवैको मिश्रिति अन्योयाश्रित सम्बन्धबाट मात्र जीवन हुनुको छुट्टै यथार्थ अनुभुति हुने रहेछ । संघर्ष पछिको विश्राम नै सबै भन्दा आनन्दीय स्वर्ग रहेछ । दिनभरी चौतारीमा सुतिरहनेलाई त्यो चौतारो पट्यार लाग्दो बन्न सक्छ तर त्यहि चौतारी थकित वटुवाको लागि वरदान सावित हुंदो रहेछ । त्यसैले जीवनमा कोही निरास छन भने उसले त्यसवाट मुक्तीको लागि आफुलाई संधै क्रियाशिल राख्नु जरुरी छ । मुक्ति, देवतालाइ पुजा गरेर हैन, उसलाई साक्षी राखेर आफैलाई क्रियाशिल बनाउंदा पाइने छुटकरा हो ।
सहयात्रीको तिलस्मी गफमा चरीको चीरवीर आवाज र उचाई लिने क्रममा हावाले आफ्नो विषेशता थप्दाको रोमाञ्चित यात्राले २ घण्टा बढीको उकालो चढेर देउराली पुगेको पत्तै भएन । विचमा रहेको होमस्टे र सेनाले वनाएको प्रतिक्षालयले थकाइलाई थोरै भए पनि राहत दिएको महशुले बेला बेलामा आनन्दको ज्वारभाटा तरंगित हुन्थ्यो । ३०-३० मिनेटको फरकमा फोहर मलाई भन्ने डस्टविन देख्दा सेनाको यो लगायत सबै काम प्रशंसनीय नै लाग्थ्यो ।

श्रोत र साधनले नै हाम्रा जनशक्तिहरुलाई दक्ष बनाउने हो भने फोहर टिप्न आउने निहुंमा एन.जि.ओ., आइ.एन.जि.ओ.ले देशका विभिन्न स्थानमा अनाबस्यक प्रवेश गरी हाम्रो नाडी छामेर गोप्य सुचना बाहिर लैजाने अवसर पाउंदैन थे । गोसाइकुण्ड मेला भर्ने विषेश समय नभएर होला, होटलमा खाना बस्नको कुनै समस्या भएन । यहि समय नै उपयुक्त लाग्यो । न झरी न वादल, न जाडो, नत जुका ललाग्छ भन्ने नै डर, नत पहेंला फूल फुलेर लेक लाग्छ भन्ने नै चिन्ता ।
हामी त्यस्तै ४.३० मा देउरालीं पुगेका थियौं जुन समुद्र सतहबाट २६५० मि. उचाईमा अवस्थित थियो । थकाइले लखतरान थियौं । विश्राम पछि साथमा लगेका ड्राइफुडहरु झिक्यौं, चिसो पानीका साथ भोक,तिर्खा र थकाइ सबै मेट्यौं. । सेता राता गुरांसले बसन्तको आगमनको झल्कोमा पुरै वन रंगाएर दुलही झैं सिंगारेको थियो , हामीे पनि क्यामराको पर्दा भित्र उस्तै सिंगारिएका थियौं । त्यहांबाट देखिने बेलुकीपखका उत्तरतिरका हिमालले सुनका दांत जस्तै खिस्स हांसेर हाम्रो स्वागतमा उभिएको भान हुन्थ्यो ।
दिनभरिको ताप र रापले थकित सूर्य देवता पश्चिम डांडाबाट त्यहि सुनौलौे रंग संगै विदाइ हुंदै थियो । भोक तिर्खा र थकाई पछिको क्षणिक मुिक्त पछि उर्जाको संजिवनीमा हामी र हामी जस्तै अभिलाष बोकेर आएका अरु सहयात्री साथीहरु विच पनि गफिदै गोंधुली सांझ रोमाञ्चित बनाउंदै लग्यौं । रमाइलो खानपान पछि दिनभरीको थकाइलाइ आराम दिन हामी निद्रादेवीको शरणमा लाग्यौंं ।
भोलिपल्ट विहान साविक समय भन्दा अलिक चांडै नै उठियो । मनमा एउटा लक्ष बोकेर हिंडे पछि संधै झैं पिरोल्ने निद्राले पनि कहिलेकांर्ही झकझकाउंदो रहेछ । संधैजसो घामको किरणमा ढकनी खोलिने यी हाम्रा नयनहरु, आज भने समुद्रमा उठेको जस्तो वेजोड मनरुपी छालले ति ढकनीमा प्रहार गरे जस्तो लाग्यो । लक्ष विहिन भए पछि नै मानिसलाई रोग, शोक, चिन्ता सबैे सबैले सताउने रहेछ । संघर्षले पाठ सिकाउने रहेछ भन्ने शिक्षाले पनि हिजोका थकाई विर्सदै गएं र अब हुने कठिनाईलाइ पनि वरदानको रुपमा लिन्छु भन्ने दरिलो मन बनाएं । विहान ७ बजे नै हिड्ने तर्खर भयो ।
यात्रामा अरु यात्रीले पनि साथ दिने कुराले थप रोमाञ्चित बनाउने नै भयो । मेरो सामुन्ने अघिल्तिर जीवनमा मैले नचढेको पहिलो उकालो थियो । हामी सबै गफिदै जाने क्रममा हिजोको अप्ठ्यारा दोहोएि जस्तो लागेन । उकालो चढ्ने क्रममा दायां वायां सेता राता गुंरासका फूलले उत्तिकै स्वागत गरिरहेको थियो र हामी हाम्रो क्यामराले त्यसलाइ चुम्वन गरिरहेका हुन्थ्यौं । यिनै गुरांसहरु आयुर्वेदीय हिसावले पनि उत्तिकै महत्वका हुंदा रहेछन ।
गुरांसको जुसको सेवनले कलेजो, मृगौला, हृदय रोग, हड्डीको दुखाई, उच्च रक्तचाप नियन्त्रणको साथै घांटीमा कुनै खाने कुरा अड्किएको बेला सेवन गर्दा समेत ठिक हुने जनविश्वस रहेछ । प्राकृतिक र आयुर्वेदिक दुबै हिसावले महत्वपुर्ण मानिएको लाली गुरांसले सर्व प्रथम २०१९ सालमा नेपालको राष्ट्रिय फूल हुने सौभाग्य पाएछ । ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरिका गुरांस फूलेको देख्न पाइने अवसर पनि हामी नेपालीमा रहेछ ।
गोसाइंकुण्डमा निस्केकेका यसै समयका सबै यात्रीहरुलाई यसरी नै स्वागत गरिरहंदो हो, यहांका चराचर जगतले । काध बाहेक संधैजसो कंक्रिटमा नजर परिरहने यी हाम्रा नयनहरु ढकमक्क फूलेका सेता र राता गुंरांस लगायतको प्राकृतिक छटा भित्र विचरण गर्ने क्रममा खुबै लालयित थियो । तिनै प्राकृतिक छटा भित्रको सहेलीसंग रँदा रम्दै चन्दनवारी आइपुगेको पत्तै भएन ।
त्यतिखेरको समय विहानको १०.३० बजेको हुंदो हो । चन्दनवारीलाई स्थानिय भाषामा सिङ्गोम्पा भनिदो रहेछ । यहांको चीज धेरै प्रसिध्द छ । त्यहां त्यस्तै पांच सातवटा राम्रा होटलहरु पनि देखें । वातावरण मन छुने खालको थियोे । केहि पर डांडा माथि निकुञ्ज सुरक्षार्थ आर्मीे पोष्ट पनि रहेछ । चन्दनवारी समुद्र सतहबाट ३२५० मि उचाइमा अवस्थित रहेछ ।
धोएर सुकाएको सेता कपडा जस्ता वादलका टुक्रा कतै कतै देखिन्थे । घामको रंग उस्तै प्राकृतिक थियो । खाना खानु अघि रमणिय वातारणमा खुला आकाश मुनि सुर्य किरणले दिएको न्यानो तापमा आनन्दको अनुभुति भैरहेको थियो । करिव १ घण्टाको बसाइमा खाना तयार भयो । भोक र उमंग दुवैले होला खाना सधैं भन्दा मिठो लाग्यो । भोलि फर्कदा यहि ठाउंमा बस्ने बस्ने निशचय गर्दे त्यहांबाट उकालो लाग्यौं ।
खाना खाने वित्तिकिै विलम्व नगरी हिंडिएको थियो । दिन मध्यान्हको थियो ।
घामले आतंक फिजाउंदै थियो । त्यसैले त्यो उकालो पहिलेको जस्तो कठिन नभए पनि अलि अलि अप्ठेरो महशु गरायो । हामी हाम्रो यात्रा जारी गरिरहेका थियौं । वरिपरिका वन जंगल र त्यसमा साथ दिने गुरांसका फूलले यात्रा अरु रोमाञ्चकारी बनाउने कामलाई पहिले झैं निरन्तरता दिइरहेको थियो । कोइलीका कूहुू कूहू आवाज त्यतिकै कर्ण प्रिय थिए । मन्द मन्द चलेको चिसो हावाले जीवनका तिता अनुभुतिलाइ पनि पानीमा घुलिएको चिनी जस्तै मिठो मन मष्तिकमा घुलायो ।
हामीलाइ छहारी दिने ति रुखका पातहरु हवाका इशारामा हाता हल्लाउंदै हाम्रो सफल यात्राको कामना गरिरहेको थियो । निस्वार्थ भावमा लीन भए पछि ओकाली र ओरालीका अप्ठ्याराहरु पनि हवाइजहाजका यात्रा भन्दा सरल र सहज लाग्दो रहेछ । मानसिक थकाई मात्र जिवनको सबै भन्दा ठुलो थकाइ रहेछ भन्ने लाग्यो । केहि उकालो उक्लिए पछि अलि सजिलो बाटाले मोड लियो ।
करिव आधा घण्टाको हिडाइ तेर्सो भएकोले थकाइमा केहि राहत मिल्यो । तेर्सो बाटो सकिए लगत्तै त्यहां एउटा होटल अगाडिको खुला चउरमा राखिएको काठका खटियाहरुमा ढसमस्स पल्टियौं र बादलले पाइला सार्दै गरेको आकाश मुनि अट्टाहासको थकाई मार्यौं । त्यहां आंफैले तयार गरेको चटपटे खाएर आधा घण्टाको विश्राम पछि २ं.३० बजे तिर लौरी विनायक तर्फ उकालो लागियों ।
लौरीविनायकको त्यो उकालो सोंचे जति त्यति कठिन नभए पनि अक्सिजनको कमिले पहिलेको उर्जामा केहि शिथिलताको अनुभव हुन थाल्यो । हिंडाईलाई केहि सुस्त बनायौं । २,४ पाइला अघि सर्दे बस्दै जाने क्रममा हामी ५ वजे मात्र उकालो पार गरी लौरी विनायक पुग्यौं । त्यहां हामीसंग जाने सहयात्री मध्येका केहि साथीहरुले होटलमा रुमको ब्यवस्था गरिसकेका रहेछन । आ आफ्नो कोठाको सांचो लिएर सामान थन्कयाई हात मुख धोएर आगो ताप्दै तातो पानी पिउन थाल्यौं ।
प्रकृतिले पनि आफ्नो दिनचर्या बदल्दै थियो, आकाशमण्डलको वरिपरि कालीनाग जस्ती भएर । ६ बज्दा नबज्दै असिना वर्सन थाल्यो र त्यसको १०,१५ मिनेट नवित्दै बाक्लो हिउं झर्न थाल्यो । साथीहरु सबै क्यामरामा आंफूलाई हिउंमा हराउन थाले । हिउं अझ बाक्लिएर हाम्रो आगमनमा झन झन स्वागत गरिरहे जस्तो लाग्थ्यो ।
भोलि पल्ट पनि हिजो अस्ति जस्तै आंखा छिटै खुल्यो । र पनि हिउंको चिसो हावाको अगाडि तातो ओछ्यान छोड्न मनले मानेन । राति अबेर सम्म परेको हिउं हावाको वहवाइमा झ्यालको छिद्र समेत छोपेर बाक्लै राज जमाएको थियो । डवल सिरक खापेर सुत्दा समेत रात त चिसोमै वितेको अनुभुति भयो । तर के गर्नु यात्रा टुंगाउनु नै थियो । लक्षले मान्छेलाई कहां स्थीर रहन दिंदो रहेछ र ? मलाई पनि त्यसले ओछ्यानबाट धकेल्न थाल्यो । सांढे छ बजेको नित्य कर्म पछि तातो पानी पिएर म पनि यात्रामा सामेल भएं ।
हाम्रो यात्रा सुनौलो झुल्के घामसंगै प्रारम्भ भयो । तीनतिरबाट उचालिएका चुचुराहरु हिउंले ढाकिंदा संधैजसो चन्द्रमालाई भनिने गरेको चांदिको घेरा आज आफ्नै धरातलमा छरपष्ट थियो । हामी यिनै दृष्य सहितको क्यामराभित्र कैद हुन थाल्यौं । हामीले माटो टेक्ने अवस्था थिएन । लाग्थ्यो, चांदीको किस्तिमा धर्तीले हात फिजाई रहेको थियो ।
महामहमिहरुलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेको त थाहा थियो । तर किन हो, हाम्रो लागि आज यहां प्रक्रृतिले नै चहकिलो निलो आकाश मुनि उस्तै स्वच्छताको कामना गर्दे सेतो कापर्टे विछ्याई दिएको छ लमतन्न गरी, गोसाईंकुण्डको पोखरी सम्मै । प्रकृतिले हामीलाई जस्तै अरु पैदलयात्रीलाई पनि यसरी नैै सत्कार गरिरहून् ।
हामी ४३८० मि उचाईमा अवस्थित गोसाइं कुण्डमा पुग्यौं । हिन्दुहरु आफ्ना आराध्यदेव शिवले त्रिशुल हानेर गोसांकुण्ड सिर्जना गरेको विस्वास गर्दा रहेछन । त्रिशुली नदीको श्रोत पनि यहि कुण्ड रहेछ । राष्ट्रिय विभ’ती काजी अमरसिंह थापाले अंग्रेजसंग भएको गौली सन्धीको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउंमा तपस्या गर्दा गर्दे आफुलाई ब्रह्मलीन गराएका रहेछन ।
गोसाइंकुण्डमा जम्मा १०८ कुण्ड रहेछन । ति मध्ये हामीले अवलोकन गरेको गोसाइंकुण्ड सहित भैरव कुण्ड र सरस्वती कुण्ड हुन । ति कुण्ड गोसाइंकुण्डको अलि वर बाटैमा पर्ने भएकोले मात्र देख्न सकिएको थियो । गोसाइंकुण्डमा जेठ असार महिनामा दशहरा मेला र साउनमा जनै पुर्णे मेला भर्न आउनुको साथै बौध्द धर्मालम्बीहरु प्नि यसलाई पवित्र तीर्थ स्थल मान्दा रहेछन ।
गोसाइंकुण्ड पदमार्गबाट मनास्लु,गणेश हिमाल,लांटांग हिमाल लगायतका थुप्रै हिउं चुचुराहरु देख्न सकिने रहेछ । कतिपय पैदल यात्रीहरु सुन्दरीजल ,हेलम्बुबाट पनि गोसाइकुण्ड दर्शन गर्न आउंदा रहेछन । फर्कदा भने ट्रेकिंगका यात्रीहरु हेलम्बु भएर जान रुचाउंदा रहेछन । हेलम्बु प्राकृतिक सौन्दर्य,सांस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो जहांबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिने भएकोले पनि पैदलयात्रीको लागि रोजाइको विषय हुन सक्छ ।
गोसाईंकुण्ड धार्मिक र पर्यटकीय दुवै हिसावले महत्वपुर्ण रहेछ । अक्सिजनको कमिले हामीमा यात्रा तय गर्ने मार्गमा समस्या त छदैं थियो तर पनि प्रकृति हाम्रो साथमा भएकाले हामी उर्जाशिल थियौं । यहां पनि निलो आकाश मुनि तातो किरणले हामीमा उर्जा थपिरहेकैे थियो । प्रकृतिले हामी माथि गरेको करुणमा अझ घनीभुत हुंंदै कठ्याङ्ग्रिदो चिसो कुण्डमा पनि ३/३ पटक डुवुल्की मारी टुंगिन नपाएको अभिलाषाको साथै जीवनमा यस ठाउंको पहिलो चरणको यात्रा सफलताका साथ पुरा गरेकोमा गर्व लाग्यो ।
यो क्षण युध्द जितेको योध्दाको जस्तै अनुभुति भयो । यसको मुग्धता प्रति मोहित हुंंदै फेरि पनि दर्शन गर्ने अवसर मिलोस साथै सहयात्रीसंगको यात्रा अझ आत्मिय र अविसमरणिय रहन सकोस भन्ने कामना गर्दै सफल यात्राको लागि आत्मा र परमात्मा सबै प्रति आभारी भयौं ।
–राम बहादुर सिंखडा, चितवन
