नीलकण्ठ माविमा दलित विद्यार्थी आन्दोलित, प्रअ अधिकारी भन्छन् नि:शुल्क गर्न सकिदैन

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०७७

धादिङ फागुन २१ । धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ माविमा निशुल्क शिक्षाको माग गर्दै दलित विद्यार्थीहरु बिहिबार देखि आन्दोलित बनेका छन् ।

पटक पटक विभिन्न बहानामा दलित विद्यार्थीहरु सँग नीलकण्ठले शुल्क असुल गर्दै आएको भन्दै र उक्त शुल्क ३ दिन भित्र फिर्ता नगरे कडा संर्घषका कार्यक्रमहरु गर्ने उनीहरुले प्रअ ध्रुर्व अधिकारीलाई चेतावनी सहित ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा नेपालको संविधानले शिक्षालाई मौलिक हक अन्तरगत राखी माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था छ । तसर्थ विद्यालयले विभिन्न शिर्षकमा लिएको रकम फिर्ता गर्नुपर्ने, सम्पूर्ण दलित विद्यार्थीहरुले निशुल्क अध्ययन गर्न पाउनुपर्ने, दलित विद्यार्थीसंग शुल्क उठाएमा शिक्षक कर्मचारीले राजिनामा दिनुपर्ने, दलित छात्रवृत्ति कोष स्थापना गर्नुपर्ने लगायतका माग छन् ।

सरकारले शिक्षा निशुल्क भनेको हैन ? तपाईहरुले त झनै दलित विद्यार्थी सँग पनि शुल्क उठाउनु भएछ भन्ने हाम्रो प्रश्नमा प्रअ ध्रुव अधिकारी भन्नु हुन्छ, दलित विद्यार्थीलाई शुल्क गर्न कहाँ भनिएको छ ? निशुल्क गर्न सकिँदैन ।

प्रअ अधिकारी भन्नु हुन्छ, कक्षा ११ र १२ मा ९५० जना विद्यार्थी छन्, ती विद्यार्थीलाई पठनपाठन गराउनका ३ जना मात्र शिक्षक दरबन्दी छ, जब कि कक्षा ११ र १२ मा अध्यापन गर्नका लागि २२ जना शिक्षकको व्यवस्था गर्नुपरेको छ, नीजि स्रोतमा शिक्षक राख्नु परेपछि शुल्क लिएका हौं ।