
धादिङ फागुन १४ । धादिङको खनियावास गाउँपालिका वडा नं ३ अन्तर्गत कुरी गाउँमा अवस्थित ऐतिहासिक कुङ्कर म्हन्दङमा भव्य बोम्बो मेला लागेको छ ।
फागुन पुर्णिमाको अवसरमा फागुन १४ गते म्हन्दङमा पुजा, पाठ र आरधना गरिएको छ । म्हन्दङ सुरुमा आवाद गर्न आउने पूर्खाले स्थापना गरेको किम्बदन्ती पाईन्छ । त्यहा ग्यर्सम्हने .(१०८ म्हाने) रहेको र एक सुन्दर ग्युलम्हने (द्वार) रहेको किम्बदन्ती पाइन्छ ।
यसको निर्माण लोप्चन थरका तामाङहरुले निर्माण गरि पुजारीको रुपमा ग्रेम्ब र फ्युबा थरले पुजा गर्ने गर्दथे । हरेक औंसी पूर्णिमामा सरसफाइ तथा पुजा गर्ने चलन थियो ।
म्हन्दङमा आवादको समयमा दुःख दिने भूत प्रेतलाई थुनेका थिए भन्ने किम्बदन्ती पाइन्छ । त्यहाँ प्राचीन लिपि उछेन, उमेदमा पनि शिलालेख पाइन्छ ।
अहिले हरेक वर्ष एकादशी र फागुन पुर्णिमामा बोम्बो मेला लाग्ने गर्दछन् । दीर्घ रोग लागेमा स्थानीयहरु उपचारार्थ जुनसुकै समय म्हन्दङमा पुजा तथा प्रार्थना गर्न पुग्ने गोपाल फ्यूवा तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
