
धादिङ मंसिर २३ । धादिङको नेत्रावती गाउँपालिका-५ र नीलकण्ठ नगरपालिका–११ का १५ सय घरधुरी सरकारले सुकुमबासी बनाएको भन्दै स्थानियहरु आन्दोलनमा उत्रिएका छन् ।
पिता, पुर्खाका पालादेखि भोगचलन गर्दै आएको र लालपुर्जासमेत कायम रहेको जग्गा २०७४ सालदेखि सरकारले गुठीको नाममा कायम गरिदिएपछि उनीहरु आल्दोलित बन्दै आएका हुन् ।
आन्दोलनकै क्रममा उनीहरु मंगलबार धादिङबेसी स्थित मालपोत कार्यालयमा धर्ना दिएका छन् । श्री ५ को वायु गुठीका नाममा बसोबास गर्दै आएका उक्त क्षेत्रका स्थानीयसँग जग्गा नापी हुँदादेखि जग्गाधनी प्रमाण पुर्जामा पूर्ण स्वामित्व थियो ।
सरकारलाई नियमित मालपोत पनि बुझाइरहेकै अवस्थामा २०७४ सालदेखि श्री ५ को वायु गुठीलाई जग्गाधनी बनाई स्थानीयलाई मोही कायम गरिदिएपछि जग्गा माथिको अधिकार खोसिएको थियो । उनीहरु अहिले चरणबद्ध आन्दोलनमा छन् यहि क्रममा उनीहरुले मालपोत कार्यालय धादिङ घेरोउ गरेका हुन् ।
