आइपिएल -२०२० को उपाधी मुम्बई इन्डियन्सलाई

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७७

एजन्सी कार्तिक २६ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० टी-ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार साँझ भएको फाईनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि जित्न सफल भएको हो ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे । ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए । दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले ।

श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर द्वन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस सुन्य रनमा आउट भए । अक्षर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरजयन्त यादबले १/१ विकेट लिए ।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो । मुम्बईले यस अघि सन् २०१३,१५,१७ र १९ मा उपाधि चुमेको थियो ।

मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ ।