
धादिङ कार्तिक १२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित सडकघाट छेउबाट सडक महिलालाई उद्दार गरि आश्रम लगिएको छ ।
करिव ४ महिना देखि व्यवारीसे अवस्थामा सलाङघाटमा छेउ सडकमा देखिने रस्मी मगर बताउने अन्दाजी ५५ वर्षिय महिलालाई स्थानीय युवाहरु दिपेश कडेल, बिमोचन सिलवाल, रोजिना खान, सुरज पाण्डे लगायतले कार्तिक २ गते भेटि उद्दार गर्ने प्रतिवद्धता सहित खाने कुरा कपडा दिएर फर्किएका थिए ।
यी युवाहरुको भेटपछि ति महिलालाई भेट्न बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई कार्तिक ४ गते पुग्नुभएको थियो । अध्यक्ष डल्लकोटीले ति आमालाई चिन्ता नगर्न र कोरोना परिक्षण गरि मानव आश्रम लैजान गाउँपालिकाले सहजिकरण गर्ने प्रतिबद्धता जनाउँदै फर्किनु भएको थियो ।
ति महिलाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आए सँगै कार्तिक ९ गते रोजिना खान, दिपेश कडेल लगायतका युवा फेरि भेट्न पुगे । यो भेट ति महिलाका लागि विशेष बन्यो । किनकी दशैंका लागि नयाँ पोशाक खानेकुरा साथमा पुग्यो ।
कार्तिक १० गते दशैंको टिकाको दिन रोजिना सहितको सहयोगी टिम पुन आमालाई भेट्न पुग्छन् र टिका अक्षता र जमरा लगाई, आश्रममा लैजाने अन्तिम तयारी भैसकेको जानकारी गराई फर्कन्छन् ।
आफ्नो नाम बताउन सक्ने तर ठेगाना बताउन नसक्ने सडक महिला रस्मीलाई उद्दार गरि कार्तिक ११ गते चितवन सम्म छाड्न बेनीघाट रोराङबाट युवाहरु दिपेश कडेल, बिमोचन सिलवाल, कृष्ण श्रेष्ठ, हसिना खान, रोजिना खान, सुजन सिलवाल, सिता खरेल, शंकर दुवाडी गएका थिए ।





