
धादिङ कार्तिक ८ । बागमती प्रदेश सरकारले पीसीआर परिक्षण नि:शुल्क गर्ने निर्णय गरे सँगै जिल्ला अस्पतालले शंकास्पद लक्षण सहितको विरामीहरुको स्वाब संकलन गर्ने भएको छ ।
बिरामीलाई ६ दिन सम्म स्बाव संकलन नगरि आइसोलेशनमा राखेर काठमाडौ रिफर गरे सँगै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रको आलोचना हुँदै आएको थियो । चिनजान र पहुँचको आधारमा समेत जिल्ला अस्पतालले पीसीआर परिक्षण गर्ने गरेको जनगुनासो आएपछि प्रदेश देखि संघ सम्म धादिङको पीसीआर परिक्षण विधि बारेमा छलफल भएको स्रोतले बतायो ।
धादिङ जिल्ला अस्पतालमा प्रवाह गर्ने ईमर्जेन्सी सेवा, प्रसुती सेवा, अन्तरङ्ग सेवा, कोरोनाको शंकास्पद विरामीहरुको चेकजांच गर्न संचालित फिभर क्लिनिक सेवा र कोरोना संक्रमित र शंकास्पद लक्षण भएका विरामीहरुको लागि अस्थायी कोभिड-१९ अस्पतालमा भर्ना गरी प्रदान गरिने आईसोलेसन सहितको उपचार सेवा २४ सै घण्टा खुल्ला रहने सूचना अधिकारी बिक्रम बिकले बताउनु भयो ।
सूचना अधिकारी बिकका अनुसार, अस्पतालको फिभर क्लिनिकमा चेकजाँच गर्न आउने कोरोनाको शंकास्पद लक्षण सहितको विरामीहरुको लागि निस्शुल्क स्वाब संकलन गरी कोरोना परीक्षण (RT-PCR) गर्ने व्यवस्था अस्पतालले गरेको छ ।

