यो वर्षको दशैं, जहाँ छौं त्यहि मनाऔं

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणले आज सारा विश्व समुदाय आक्रान्त छ । गत वर्ष चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण अहिले विश्वका सबै देशहरूमा फैलिएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७ कार्तिक ३ गतेको अद्यावद्यिक विवरण अनुसार हालसम्म नेपालमा १ लाख ३६ हजार ३६ जना कोरोना भाइरस संक्रमीत भएका छन् । कुल संक्रमित मध्ये ९४ हजार ५०१ जना निको भएका छन् भने ७५७ जनाको दु:खद निधन भएको छ ।

मानिस मानिस बीच आपसी सम्पर्कमा आउँदा संक्रमीत व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा मुख तथा नाक बाट निस्कने छिटा (droplets) को माध्यमबाट एक संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा यो भाइरस सर्ने गर्दछ ।

लक्षणको आधारमा कोभिड संक्रमणलाई माइल्ड, मोडरेट र सिभियर गरी तीन खालको संक्रमणको रुपमा विभाजन गर्न सकिन्छ । लक्षण नभएका र माइल्ड खालका संक्रमितको घरमै सुरक्षित रहेर उपचार गर्न सकिन्छ।

कोरोना संक्रमणले फोक्सोमा असर गर्न थालेको अवस्थालाई मोड्रेट संक्रमण भन्ने गर्दछाैं । फोक्सोले काम गर्न कठिनाइ हुन थालेपछि श्वासप्रश्वासमा समस्या हुन थाल्दछ ।
त्यस्तो अवस्थामा बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गर्दछ ।

श्वासप्रश्वासका गति बढेका र फोक्सोमा असर देखिएका बिरामीलाई तुरुन्त अस्पतालमा भर्ना गरेर उपचार सुरु गर्नुपर्दछ । यस्ता बिरामीको अवस्था गम्भीर हुन सक्ने हुँदा चिकित्सक तथा नर्सको निगरानीमा उपचार गर्नुपर्दछ ।

सामान्य अवस्थामा शरीरमा अक्सिजनको मात्रा (SPO2) ९५ प्रतिशतभन्दा बढी हुनुपर्दछ । अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भएका त्यस्ता बिरामीलाई अक्सिजन दिएर राख्नुपर्दछ । घरमै आइसोलेसनमा रहेका बिरामीहरुको अक्सिमेट्रि डिभाइस मार्फत अक्सिजनको स्याचुरेसन नाप्न सकिन्छ ।

श्वासप्रश्वासमा समस्या भएका अर्थात श्वासको गति छिटो भएका बिरामीको अवस्था गम्भीर हुन सक्ने हुँदा त्यस्ता संक्रमितलाई चिकित्सक तथा नर्सको निगरानीमा उपचार विधि सुरु गर्नुपर्दछ ।

कोरोना भाइरस संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, जीउ दुख्ने, शरीर शिथिल हुने, जिब्रोको स्वाद हराउने, नाकको सुघ्ने शक्तिमा ह्रास आउने, पखाला लाग्ने, श्वासप्रश्वासमा गार्हो हुने, शरीरमा एलर्जी हुने जस्ता लक्षणहरु देखापर्ने गर्दछन् ।

कोरोना भाइरसको संक्रमण सामान्यतया ७-१४ दिन सम्म रहने गर्दछ । तर कसै कसैलाई संक्रमणको जटिलताका कारण फोक्सोमा निमोनिया देखिने, श्वासप्रश्वासमा कठिनाइ भएर भेन्टिलेटरको सहारा लिनुपर्ने साथै शरीरका मुख्य अङ्गले काम गर्न नसकी मृत्यु समेत हुने गरेको घटनाहरु हामीहरुले दैनिक सुन्दै र भोग्दै आएका छौं ।

यो प्राणघातक भाइरसको निदान तथा निराकरण बारे सारा चिकित्सा जगत अध्ययन अनुसन्धानमा जुटिरहदा समेत यो भाइरस विरुद्धको भ्याक्सिन तयार गर्न अझै आशातित प्रगति हासिल हुन सकेको छैन ।

कोरोना संक्रमण हुनु भन्दा यो संक्रमणबाट बच्ने अन्तर्राष्ट्रिय मापदण्डको कडाइका साथ पालना गर्नु नै सर्वोत्कृष्ट विधि हो । उचित तरिकाले मास्क लगाउदा, व्यक्ति व्यक्ति बीच भौतिक दूरी कायम गर्दा, साबुनपानीले पटक पटक हात धुदा र अनावश्यक भीडभाडमा नगई घरमै सुरक्षित बस्दा नै यो रोग लाग्नबाट बच्न सकिन्छ ।

कोरोना भाइरस संक्रमण संग मिल्दोजुल्दो लक्षण देखिना साथ घरका परिवारबाट अलग रही हावा, प्रकाश छिर्ने छुट्टै कोठामा आइसोलेशनमा बस्नुपर्दछ । उपयुक्त सुरक्षाको विधि सहित अस्पताल वा स्वाब संकलन केन्द्रमा गई पिसिआर परिक्षण गराउनुपर्दछ । पिसिआर रिपोर्ट नआउन्जेल आइसोलेसनमै रहनुपर्दछ ।

यदि रिपोर्ट पोजिटिभ आइहाल्यो भने पनि धैर्यतापुर्वक थप सावधानीका साथ घरेलु विधिहरु जस्तै तातो झोलिलो पदार्थ खाने,चिसोबाट बच्ने, दिनमा पटक पटक बाफ लिने, न्यानो घाम ताप्ने , हल्का व्यायाम गर्ने, पोसिलो खानेकुरा खाने, ज्वरो आए, जीउ दुखेमा सिटामोल खाने गर्नुपर्दछ । यस्तै भिटामिन “सी” युक्त फलफूलको सेवनले पनि शरीरलाई फाइदा पुग्ने गर्दछ ।

रुघाखोकी वा घाँटी खसखस गरेको छ भने चिकित्सकको सल्लाह बमोजिम एंटीहिस्टामिनको प्रयोग गर्न सकिन्छ। राती सुत्दा घोप्टो फर्केर सुत्ने विधिलाई पनि अपनाउन सकिन्छ । त्यसरी सुत्दा शरीरमा अक्सिजन लेभलमा सुधार हुने गर्दछ । त्यस्तै स्वाशप्रश्वासमा समस्या आएमा तुरुन्त अस्पताल जानुपर्दछ । अस्पतालमा बिरामीको रगतमा अक्सिजनको मात्रा अनुसार अक्सिजन दिएर उपचार गर्न सकिन्छ । लक्षण सहितका बिरामीहरुले अविलम्ब पिसिआर जाँच गरि परिवारका अन्य सदस्यहरुलाई संक्रमीत हुन बाट जोगाउनुपर्दछ ।

कोरोना महामारीका बीच आम नेपालीको घर आगनमा आईपुगेको दसैं, तिहार, छठ जस्ता चाडपर्वमा अझ बढी सावधानी अपनाउनु पर्ने देखिन्छ । मानवीय सम्पर्कबाट नै कोरोना भाइरस सर्ने हुँदा यसपालीको पर्वहरु पर्याप्त सुरक्षाको मापदण्ड अपनाउदै एकाघरका परिवारका सदस्य बीच मात्रै सीमित गर्न जरुरी देखिन्छ ।

चाडपर्वहरु हरेक वर्ष आइरहने हुँदा यो वर्षको चाडलाई कोरोना महामारीका कारण आवतजावत नगर्ने भनेर आफ्ना आफन्तजन, इष्टमित्र, छरछिमेकलाई अवगत गराउनु जरुरी छ । आम नेपालीका प्राय सबै घरका ज्येष्ठ सदस्यहरु कुनै न कुनै दीर्घ रोग बाट पीडित रहेको कारण दसैंमा टीका थाप्न आउनेजाने व्यक्तिहरु कोरोना भाइरस सार्ने माध्यम (carrier) बन्ने जोखिम रहेकोले यो वर्ष चाडपर्वलाई परिवारका सदस्यहरु बीच मात्रै सीमित राख्दा बुद्धिमत्तापुर्ण हुनेछ ।

कोरोना भाइरस संक्रमीत बिरामीलाई हेला तथा दुर्व्यवहार नगरी उनीहरु संग फेस्बुक मेसेन्जर, भाइवर जस्ता इलेक्ट्रोनिक माध्यमबाट नियमित कुराकानी गरी कोरोना संक्रमणलाई जित्न हौसला र प्रेरणा दिनुपर्दछ ।

तपाई हाम्रो व्यक्तिगत सावधानीले नै कोरोना भाइरसको यो त्रासदीपुर्ण महामारीबाट जोगिन सकिने हुँदा सबैले जिम्मेवारीपुर्वक आफ्नो आचरण र व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । कोरोना भाइरस संक्रमणलाई सामान्य रुघाखोकी ठानेर घरमै रोग पालेर बसिरहदा संक्रमणको जटिलताका कारण अकाल मृत्यु हुने सम्भावना रहेकोले खेलाची नगर्नुहुन सबैमा अनुरोध छ ।

( धादिङबेंसी निवासी डा. राम थापा क्षेत्री हाल चि.वि.रा.प्र, राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ)