
शन्ताेष ब्लाेन
हिजोआज तिब्बति बौद्ध समाजमा रङ्गि चङ्गि कपडाको झन्डाहरु पाउछौ। यसलाइ हामि ‘prayer flags’ भनेर पनि चिन्छौ । लामो डोरि वा धागोमा स-साना चार पाटे ति ‘तेर्सो झन्डा’लाइ हामि लुङ्दर (लुङ ता/ rlung ta) भनेर चिन्दछौ। बाँस वा अरु कुनै बलियो र अग्लो लट्ठिमा बाधिएर झुन्डिएको लामो ‘ठाडो झण्डा’ चाइ दार्ज्योको (darzog) नामले चिनिन्छ ।
बौद्ध धर्म स्थलहरुमा र हिमालि क्षेत्रमा पाइने यो धार्मिक प्रचलन अहिले तामाङ्ग गाउहरुमा पनि छ्याप छ्याप्ति पाइने गर्दछ । २०४६ सालको राजनितिक परिवर्तन पछि धार्मिक र सामाजिक खुकुलोपन हुदै गएको अवस्थामा, तामाङ्गहरुले आफ्नो घर आँगनमा र गुम्बाहरुमा लुङ्दर र दार्ज्योको उपयोग ह्वात्तै बढाएका छन् ।
आज यो तामाङ्ग पहिचानको पर्यायवाची नै भैसकेको छ। सजावटको दृष्टिले हेर्दा पनि राम्रो देखिने र पहिचान पनि झल्काउने भएको हुदा हुदै पनि मेरो आफ्नै गाउ तावरिमा चाहि त्यति ठुलो प्रयोग देखिदैन । च्याल्टिबाट आएका केहि रुम्बाको घरमा बाहेक अरु कुनै पनि ब्लोनकोमा मात्र नभएर, नजिकैको स्योम्लोबाट आएका रुम्बाको अर्को खलकले पनि लुङ्दर र दर्ज्युको प्रयोग गर्दैनन् । यसको कारण बुझ्दा, हाम्रो (ब्लोन) लाबोन लामा हैन, राख्नु हुन्न, फाप्दैन भन्ने बुझियो ।
त्यसो भए के लुङ्दर/लुङ्दार र दार्ज्योको उत्पत्ति बौद्ध परम्परा हो त ? यस प्रश्नको उत्तर खोज्दै जाँदा लुङ्दरको मुल अवधारणा बौद्ध धर्ममा नभएर तिब्बतको पुरानो र मौलिक बोन धर्ममा भेटियो । लुङ्ता मुख्यतया लोक संस्कृतिको (folk religion) एक विशेषता थियो । पछि गएर तिब्बति बौद्ध धर्मले पनि यसलाइ अङ्गाले ।
१९ औ शताब्दि तिर तिब्बतको सन्स्कृतिमा गेलुगले, निङ्मा, शाक्य र काग्यु परम्पराको प्रभाव राजनिति र समाजबाट हटाउन थाले । यसको विरुद्धमा प्रसिद्ध गुरुहरु मिफम (Ju Mipham), वाङ्पो (Jamyang Khyentse Wangpo) र कोङ्ठुइलले (Jamgön Kongtrül) बोन गुरुहरु र अरु पनि सम्प्रदाय सङ्ग मिलि गेलुगको बिरुद्ध एउटा छुट्टै आन्दोलन शुरु गरे जसलाइ ‘रिमे’ आन्दोलनको (Rimê movement) नामले चिनिन्छ ।
डेभिड केका अनुसार त्यस आन्दोलनलाइ दबाउन गेलुग गुरु पाबोङ्खापा देचेन न्यिङ्पोले ‘दोर्जे शुग्देन’ (Dorje Shugden) तत्वलाइ पनि प्रयोग गरेका थिए । त्यहि देखि तिब्बति बौद्ध धर्मले पनि बोनको केहि पक्षहरु आफुमा समाहित गरे । अनि लुङ्ता पनि बौद्ध परम्पराको एउटा अभिन्न पाटो बन्न पुग्यो। यहि कारणले आधुनिक विश्वले यि बौद्ध परम्परा भनेर बुझ्न थाले ।
चिनियाँ ज्योतिष शास्त्रबाट भितृएको यो पन्चतत्व (Wuxing) सङ्ग सिधै सम्बन्धित छ । यसलाइ तामाङले ‘खाम’ पनि भन्छन् । लुङ्ता र दार्ज्योमा पाइने ५ रंगहरुको अर्थ पनि राख्दछ । निलो आकाशको प्रतिनिधित्व गर्दछ, सेतो वायुको प्रतिनिधित्व गर्दछ, रातो आगोको प्रतीक, हरियो पानीको प्रतीक, र पहेंलो पृथ्वीको प्रतीक ।
सबै पाँच रंगहरूले सन्तुलनको संकेत गर्दछ । यि प्रार्थना झण्डाहरुले हाम्रो प्रार्थना देवताहरु सम्म पुर्याउछ भन्न साधारण धारणा गलत हो । बरु हावाले झण्डामा छापिएको मन्त्रहरू र हाम्रो प्रार्थना आफु सङ्गै लिएर जहाँ सुकै गए पनि सद्भावना र सकारात्मक उर्जा फैलाउँदछन् भनेर विश्वास गरिन्छ । अग्लो ठाउँमा झण्डा झुण्ड्याउँदा लुङ्तामा चित्रित मन्त्रहरूले हावालाई शुद्ध र पवित्र बनाउँछ भन्ने विश्वास पनि गरिन्छ ।
क. अब लुङ्ताको चार कुनामा (४ दिशा) अङ्कित अरु चार जनावरको बारे बिस्तृतमा बुझौ ।
१. लुङ्दरको बिचमा ‘हावा घोडा’ को चित्र हुन्छ । त्यसको वरिपरि चार कुनामा बाघ, सिँह, ड्र्यागन र चिल हुन्छन्। पुर्वि एसिया र मध्य एसियाको झाक्री परम्परामा उड्ने घोडालाइ मानविय आत्माको प्रतिक मानिन्छ । यो घोडा शुन्यता वा व्रह्माण्डको (Space) प्रतिक हो ।
२. प्राचिन बोन परम्परामा चिललाइ ‘छ्युङ’ (Roc/Khyung) को रुपमा पुज्ने गर्छन् । यस चिललाइ लुङ्तामा आगोले (Fire) प्रतिनिधित्व गर्छ किनभने आगोलाइ शक्ति र उर्जाको प्रतिक मान्ने गरिन्छ ।
३. ड्र्यागनलाइ पानीमा बस्ने एउटा पौराणिक जनावर भएकोले यसलाइ पानीको (Water) प्रतिक मानिन्छ । यस तरीकाले पानीको भौतिक पक्ष मात्र प्रस्तुत गरिएको छैन, तर जीवन, आन्दोलन, र उर्जासँग आयाम पनि छ ।
४. सिंहले पृथ्वी तत्वलाई प्रतिनिधित्व गर्दछ। तिब्बतीहरू पनि चिनियाँहरू जस्तै त्यहाँ हिउँ सिंहहरू छन् भनेर विश्वास गर्छन् । यो एक पौराणिक कथा वा अवधारणा पनि हुन सक्छ । हिउँ, पहाड र अग्लो पहाडहरूमा पाइन्छ, जुन पृथ्वी र चट्टानको मिश्रण हो । यो पृथ्वी (Earth) तत्वको प्रतिक सिंह हो ।
५. अन्त्यमा बाघ: सामान्यतया हामी जंगलमा बाघ भेट्टाउँछौं, जहाँ काठ प्रशस्त छ । ज्योतिष प्रणालीमा, दुबै चिनियाँ र तिब्बती परम्परामा, वायु तत्व काठले (चिनियाँ- Wood, बोन- Wind) प्रतिनिधित्व गर्दछ । काठ भनेको रूखहरू र जंगलमा जनावरहरू जसले यो चाल प्रतिनिधित्व गर्दछ, त्यो वाघ हो ।
लुङ्ताको उत्पत्ति
सन् १९९८ को The Arrow and the Spindle पुस्तकमा लेखक साम्तेन कार्मेले तिब्बतमा लुङ्ता परम्पराको धेरै पुरानो र पूर्ववर्ती अभ्यास भएको तथ्य फेला परेको उजागर गरे । पहिले त्यहाँ हिज्जेको बारेमा लामो समयदेखि भ्रम रहेको भेटियो किनभने ‘लुङ्ता’ शब्दद्वारा उत्पादित ध्वनि या त klung rta “river horse” वा rlung rta “wind horse” दुबै हुन सक्छ ।
कार्मेले “नदी घोडा” वा पानीमा पाइने घोडा (klung rta) नै वास्तवमा यसको मूल अवधारणा भएको जिकिर गरे । किनभने चीनबाट आयात गरिएको तिब्बति ‘नाग चि’ (nag rtsis) ज्योतिषशास्त्रमा यो पाइन्छ । यहाँ nag भन्नाले Gya nag (चिन) को nag हो । लुङ्ताको (klung rta) श्रोत ‘लोङ मा’ (lung/long – dragon; ma – horse) हो किन भने आयातित चिनियाँ ज्योतिषशास्त्र अनुसार उनिहरुको पौराणिक कथामा ड्र्यागनहरू (डुक) अक्सर नदीहरूबाट बाहिर आउँछन् ।
प्रस्तावित व्युत्पत्तिको कारणले चिनियाँ lung/long ma, klung rta हुन पुग्यो। त्यहि klung rta फेरि rlung rta (लुङ्ता) भयो । यसरि, चिनियाँ नदिको घोडा (river horse) तिब्बतमा पुग्दा हावाको घोडा (wind horse) बन्न गयो । त्यहि घोडालाइ आज हामि लुङ्ता (लुङ्दर) भनेर चिन्दछौ ।
ख. दार्ज्यो – तिब्बति बौद्ध परम्परामा कुनै पनि बाँस, फलामको पोल वा अरु कुनै ठुलो र बलियो खालको लट्ठिमा झुन्ड्याइएको ठाडो खालको आयताकार प्रार्थना झण्डाहरुलाइ दार्ज्यो भनिन्छ । दार्ज्यो सामान्यत: जमिन, हिमाल, आँगन र छानामा लगाइन्छ । यो प्रतीकात्मक रूपमा ध्वजासँग सम्बन्धित छन् । बोन्बो बिर्दोस तामाङका अनुसार शब्द निर्माणमा दार भन्नाले कपडा र च्यो भन्नाले झुन्ड्याउनु हो। कालान्तरमा यहि अप्रभम्श हुदै दार्ज्यो हुन गयो । चिनियाँ र मङ्गोलको सैनिक इतिहास हेर्दा, यस्तै दार्ज्यो नै पछि गएर उनिहरुले आफ्नो लडाइमा Banner को रुपमा प्रयोग गर्दै आए ।
ग. साङ – साङ भन्नाले यहाँ बौद्ध सन्स्कार अनुसार आगोमा धुपि (juniper) जलाएर निस्किने धुवाँले गरिने शुद्धिकरणको विधि बुझिन्छ । तिब्बतिहरु कुनै पनि पुजा वा महत्वपुर्ण काम शुरु गर्नु अघि साङ गर्ने चलन छ। यो परम्परा हिजो आज बौद्ध लामामा पाइए पनि यसको इतिहास हेर्दा साङको उत्पत्ति बोन परम्परामा भएको प्रस्ट हुन्छ । तामाङ समाजमा बोन्बोले पनि आफ्नै परम्परामा साङ गर्दछ । साङ शुरु गर्नु अघि मन्त्र जप्दा यस अनुष्ठानको उत्पत्ति बारे वर्णन गरिएको छ। यो प्राचिन बोन परम्परालाइ ‘छ्योराब’ भनिन्छ । कहिलेकाँही यसलाई माङ (mang) पनि भनिन्छ ।
गुरु पद्मसम्भावले तिब्बतको यात्रामा यो बोन परम्परालाइ न्यिङ्मा भित्र समावेश गराएका थिए । तर, यस विधिको सुत्र (तन्त्र) भने पद्मसम्भावको ‘जाङ्ये’ मा भेटिन्न । जाङ्ये भनेको गुरु पद्मसम्भावको अनुष्ठानहरु सम्बन्धि सुत्रहरुको पुस्तक हो । साङको उत्पत्ति बोन परम्परा अनुसार आकाश (व्रह्माण्ड) र धर्तिको (पृथ्वि) सम्बन्धमा आधारित छ । बोनहरु आकाशलाइ बाउ र धर्तिलाइ आमा मान्छन् ।
आकाश गर्जिदा (thunder) धर्तिमा चम्किलो प्रकाश (lightning) प्रकट हुदा लाग्ने आगोले बिचमा रहेको हावा र प्रकृतिमा रहेको प्रदूषणलाइ हटाउएर सुद्धिकरण भएको मान्यता राखेको बुझिन्छ । चट्याङलाइ वज्रको रुपमा पनि हेरिन्छ । बोन अवधारणामा आकाशलाइ बाउ र धर्तिलाइ आमा मान्छन् । बौद्धमा यो विचार पाइदैन ।
अन्त्यमा, हामि तामाङले मान्दै आएको तिब्बति बौद्ध धर्म (न्यिङ्मा) होस् वा बोन परम्परा होस्, बुझ्नु जरुरि के छ भने गुरु रिम्पोचेले (पद्मसम्भाव) बोनका धेरै अनुस्ठाण र अभ्यासहरुलाइ महायानि वज्रयानसङ्ग मिश्रण गरे । आज ति सबै तामाङ समाजको अभिन्न अङ्ग भएका छन् । जापानमा बौद्ध धर्म (Zen Buddhism) अङ्गाले पनि उनिहरुले प्रागैतिहासिक परम्परा सिन्टोलाइ (Shinto) पनि छोडेका छैनन् ।
बरु राष्ट्रिय धर्मका रुपमा अप्नाएका छन् । सिन्टो अरु केहि नभएर बोन परम्परा नै हो । ढुङ्गे युगमा (Neolithic) साइबेरियाबाट कोरिया हुदै जापान पुग्दा सिन्टो भए । त्यहाबाट दक्षिण झर्दै साङ्सुङ र पुर्वि तिब्बत पुग्दा बोन भए । तामाङले पनि आफ्नो स्थानान्तरण हुदा त्यहि परम्परा बोकेर आए ।
आज हाम्रो पहिचान भनेकै बोन र तिब्बति बौद्ध धर्मको मिश्रण हो, जुन कुरालाइ डेभिड होम्बर्गले आफ्नो पुस्तक ‘Order in Paradox: Myth and Ritual Among Nepal’s Tamang’ मा बिस्तृत रुपमा उल्लेख गरेका छन् । तर, यति भन्दा भन्दै पनि आबा नभएको मेरो घरमा लुङ्दर र दार्ज्यो झुड्याउन आप्च्याङले दिन्छ कि दिदैन, त्यो समयले नै भन्ला ।
श्रोत : चोग्याल नाम्खाइ नोर्बु (the Light of Kailash)
