गुर्जोको महत्व र खेती गर्ने तरीका

Avatar photo
Dhadingpost
अशोज ८, २०७७

धादिङ असोज ८ । यतिबेला कोरोना भाईरस विरुद्ध अचुक काम गर्ने दावी सहित नेपाल र भारतमा गुर्जोको खोजी निकै बढेको पाईन्छ । भारतिय योग गुरु रामदेव भन्छन्,“तारबार, पर्खाल नजिक वा जता हुन्छ– यो लगाऊ !”

गुर्जो मानव स्वास्थ्यको लागि अध्यन्त लाभदायी हुने आयुर्वेद शिक्षामा पनि पढ्न पाईन्छ भने गाउँघर तिर गर्मी लागेमा, शरीर शिथिल भै टाउको दुखेका, ज्वरो आएमा गुर्जो र घोडटार्भे मिसाई पिसेर खाने चलन धेरै पहिला देखिको हो । गाउँघर, शहर जता ततै कोभिडका कारण गुर्जोको खोजी निकै बढेको पाईन्छ ।

गुर्जो कस्तो बनस्पती हो ?

गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गतको ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको जडीबुटी हो । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो ।

गुर्जोको फाईदा

आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्व लगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।

गुर्जोमा औषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको बताउँछन् ।

जैविक विविधता विज्ञ यादव उप्रेती भन्नु हुन्छ, गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझी औंला जत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाच पारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरौं ।

खेती गर्ने तरिका

यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ । डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गर्न सकिन्छ । यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन् । यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ ।