
नेपालमा यहि तरिकाले र व्यहि व्यवस्था मार्फत समाजवाद आउनेमा शंकै शंका पैदा हुँदै गएको छ । हजारौं सहिद, हजारौं वेपत्ता, हजारौं घाईते अपाङको बलिदानी सँगै नेपालमा राजतन्त्र फालियो, गणतन्त्र त आयो, तर जनतालाई ‘ममी हात्ती बलियो कि हात्तीछाप चप्पल ?, उस्तै उस्तै हो नानु’ भने जस्तै भएको छ ।
गाउँ-गाउँमा सिंहदरबार आएको स्वाद राम्रै संग चखाएका छन्, अहिलेका जनप्रतिनीधिहरुले । हिजो फित्तावला चप्पल पड्काएर हिड्नेहरु आज गगनचुम्बी महल ढड्याउन सफल भएका छन् तर ति सहिद परिवार, वेपत्ता परिवार, घाईते अपाङ्हरु र आम जनताको जिवन स्तर कत्ति पनि बदलिन सकेको छैन ।
हिजााे एउटा राजा पाल्नु पर्दथ्याे, अहिले हजारौं राजाहरु पाल्न जनताले कर तिर्न वाध्य छन् । सर्वहारा वर्गको वैचारिक लडाईबाट खारिएर आएका नेताहरु आज तलव लिन्न सेवासुविधा लिन्न जनतालाई मार पर्यो भन्न सक्दैनन् ।
आफ्नो धरातल बिर्सिएर यसरी अगाडी दौडिएका अहिलेका कम्युनिष्टहरुको यात्रा समाजवाद तर्फ हो, भनियो भने त्यो भन्दा मुर्खता अरु के हुन सक्छ र ? जो हिजो गद्दार थिए, जो क्रान्तिका कायर थिए, अहिले उनीहरु गज्जवका कान्तिकारी नेता बनेका छन् । तिनै मान्छेहरुको घेराबन्दीमा कम्युनिष्ट नेतृत्व परेको छ ।
यहि थियो सहिदको सपना ? म सबै सहिदहरुलाई स्मरण गर्दै सहिद मेरो दाजुलाई सम्झेर केहि भन्न मन लाग्यो । दाई तिमी बाँचेको भए सबैले चाहेको जस्तो त नभनौं सायद धादिङका जनताले चाहेको जस्तो निडर नेतृत्व हुने थियौ ।
अहिले जस्तो विकृत संगठन अनि भ्रष्टाचारी सोच र अलिसान महल पराखीहरुको निम्ती पहाड बनेर उभिने हिम्मत राख्ने एउटा असल र स्वच्छ छविको नेतृत्वको रुपमा आफुलाई सावित गर्ने थियौं ।
हिजो समाजको उपमा भनौं कि, सामन्तहरुको दमन गर्ने शैलीका कारण भनौं, जो समाजले दलित भनेर हेला होचो गर्ने समुदायको श्रम, सीप, यौवन चल्ने तर पानी नचल्ने जो प्रथाको थियो त्यसको विरुद्ध धावा बोल्ने मुक्ती युद्धको एउटा असल, पारखी योद्धा तिमी हिजो नेतृत्वलाई दुश्मनले चौतर्फी घेरा हाल्दा आफ्नो छाती ढाल बनाएर गोली खाना तयार भएका थियौ ।
आज थाहा छ दाई, तिम्रो नेतृत्वलाई चौतर्फी आक्रमण भईरहँदा सायद नेतृत्वको पक्षमा गोली खाना त कता हो कता । नेतृत्वको ने पनि पो उच्चारण गर्न मन नलाग्ने गरि फुटेको हाँडी झै मन कोतारिएको छ । अनि दाई नेतृत्वले सहिदको सपना उच्चारण गरिरहँदा कता कता आफु कमजोर भएर मागिखाने भाँडो बनाई रहेको आभास हुन्छ ।
हिजो तिमिले भनेजस्तै बाहिर खासीको टाउको झुन्डाएर भित्रबाट कुकुरको मासु बेच्ने थलो पो भैरहेको छ अहिले नेपाली कम्युनिष्ट पार्टीहरु । त्यही मात्र कहाँ होर तिम्रा नेता कसैको तिथिमा गोहिको आँसु चुहाउँदै महान् सहिदको उपमा दिदै माल्यपर्ण गर्न यो कोरोना कहरमा पनि पुगेको देखें ।
अनि त्यहि महिना त्यही कोरोना कहरमा भित्तामा झुन्डिएको तिम्रो फोटोमा फुलको माला त कता हो कता, एक थुङ्गा फुल चढाउन जान धादिङका नेता तयार देखिएनन् । त्यसैले मलाई लागिरहेको छ । आखिर सहिदको रगतको मुल्य पनि फरक बनाईदो रहेछ । कारण तिम्रो घर परिवार उनको गुलाम हुन नसक्नु नै आजको समयको मुख्य कारण बनेको छ । तिमी भौतिक रुपले सकियौं विचारले गद्दार हुन परेन । हार्दिक श्रद्धाञ्जली दाई ।
यस मानेमा दु:खीत छु दाई, तिम्रो सपना पुरा हुने फेरि बलिदानी पूर्ण आन्दोलनको जरुरी देखिँदै छ तर कामना गर्छु अर्काे युद्ध नहाेस् । तिमीले लडेर बनाएका नेताहरु संशोधनवादमा फस्दै छन् । नेपाली जनतालाई भेडा बाख्रा जस्तो किनबेचको साधन बनाउँदै छन् । दाई तिम्रो सपना पुरा हुन्छ तर समय लाग्ने भयो यस मानेमा दु:खी छु । (लेखकः लोप्चन जनयुद्धका सहिद परिवार सदस्य हुनुहुन्छ)
