धादिङका राजेन्द्र सेन्चुरीलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

Avatar photo
Dhadingpost
भदौ ३०, २०७७

धादिङ भाद्र ३० । धादिङ नीलकण्ठ नगरपालिका धुवाँकोटका राजेन्द्र सेन्चुरीलाई ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा सेन्चुरीलाई उक्त अन्तराष्ट्रिय पुरस्कारको घोषणा गरिएको हो ।

६१ देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण उहाँ आफैं उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न गर्न चाहि सक्नुभएन ।

नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गर्नु भएका राजेन्द्रले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आउनु भएको थियो ।

अन्तर धार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरण जस्ता क्षेत्रमा विशेषज्ञताका आधारमा मुल्याङ्कन गरि यो पुरस्कार प्रदान गरिने गरिन्छ ।

यो वर्ष यस अन्तर्राष्ट्रिय पुरस्कारको चौथो वर्ष हो । यो पुरस्कारलाई सरकार, विश्वविद्यालय, गैरनाफामूलक संस्था र अभियान, युरोपेली युनियन र युनेस्को जस्ता अन्तर्राष्ट्रिय सङ्गठन लगायत विश्वका २१ प्रतिष्ठित संस्थाहरूद्वारा समर्थन गरिएको थियो ।