फोस्रेटार सडकलाई मुकुन्द सेन मार्ग नामाकरण गर्न पहल गर्छु -लोहनी

Avatar photo
Dhadingpost
भदौ २९, २०७७

धादिङ भाद्र २९ । महान जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङ आयोजना गरेको जनयुद्धका सहिद मुकुन्द सेनको स्मृति दिवस कार्यक्रममा बोल्दै धादिङका संघीय सांसद खेम लोहनीले धादिङबेसी फोस्रेटार सडकलाई मुकुन्द सेन मार्ग नामाकरण गर्न पहल गर्ने बताउनु भएको छ ।

धादिङबेसीमा आयोजित उक्त कार्यक्रममा बोल्दै सांसद लोहनीले सहिदहरुको बलिदानीको उच्च कदर नेकपाले गर्ने बताउँदै मुकुन्द सेन मार्ग नामाकरण गर्न पार्टीले पनि सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।

यस्तै कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सभा सदस्य प्रदेश सांसद एवम् नेकपा नेता डा. रामकुमार अधिकारीले आगामी स्थानीय तहको चुनावमा नीलकण्ठ नगरपालिकामा काङ्ग्रेसलाई घुडा टेकाएरै छाड्ने दावी गर्नु भएको छ । नेपाली काङ्ग्रेसले नीलकण्ठ नगरपालिकामा विभिन्न विकासका योजना दिदै उपभोक्ता समिति मार्फत ५० प्रतिशत काम गर ५० प्रतिशत खर्च गर भन्दै युवाहरुलाई लोभ देखाएर पार्टी प्रवेश गरी लोकतन्त्रको नाममा लुट मच्चाएको समेत अधिकारीले दावी गर्नुभएको छ ।

समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको १८ औं मुकुन्द सेन स्मृति सभामा संघीय सांसद एवं नेकपा केन्द्रीय सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता, बागमती प्रदेश सभा सदस्य एवं नेकपा नेता डा. रामकुमार अधिकारी, नेकपा धादिङका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सुनौला बजार नीवासी मुकुन्द सेनलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साल भाद्र २९ गते नेत्रावती डबजोङ गाउँपालिका कटुञ्जेको थर्पु भन्ने ठाउँबाट गिरफ्तार गरी करिब ५ किलोमोटिर तलसम्म घिसार्दै ल्याएर थोपल खोलाको किनारमा गोली हानी हत्या गरेको थियो ।