आमाको पुकार

Avatar photo
Dhadingpost
भदौ २७, २०७७

ए छोरा अब हुन्न बाहिर बसी फर्केर आऊ घर
माटो देश बचाउने समरमा लौ युद्ध आई गर !!
लागे चिर्न पहाडको बिकटता बन्ने छ यो सुन्दर
ए छोरा अब हुन्न बाहिर बसी फर्केर आऊ घर !१!

आमा बाहिरबाट भित्र घरको छिर्नै नसक्ने भइन्
टेकी कम्मरमा र हिँड्न नसकी लठ्ठी समात्ने भइन् !!
हेर्ने नेत्र भएर पूर्ण धमिला काम्यो जिया थर्थर
ए छोरा अब हुन्न बाहिर बसी फर्केर आऊ घर !२!

तिम्रो काख सिरान टेक्न सकिने आशा थियो स्वासको
तिम्रा हात समाती राख्न मुखमा इच्छा थियो गाँसको !!
हामी सास थमाई साझ घरमा रोएर हेर्छौं पर
ए छोरा अब हुन्न बाहिर बसी फर्केर आऊ घर !३!

इच्छा यो छ सुपुत्र अन्तिम यहाँ तिमी हुनु साथमा
रित्तो गाउँ छ ज्यानले मरिगए को लान्छ चिहानमा !!
कस्तो कष्ट छ पुत्र छैन सँगमा हे राम हे ईश्वर
ए छोरा अब हुन्न बाहिर बसी फर्केर आऊ घर !४!

छोडी मोह बिदेशको अब रमौं आफ्नै भुषा भेषमा
तिम्रा बुद्धि र कर्मको फल मिलोस् सम्पूर्ण यो देशमा !!
राम्रो काम गरे समस्त जनले के देश बन्दैन र ?
ए छोरा अब हुन्न बाहिर बसी फर्केर आऊ घर !५!