शालिकोत्सव र निर्जिव सजिवता

Avatar photo
Dhadingpost
भदौ २४, २०७७

शहरको बीचमा भागमा
निर्जिव शालिक अनवरत ठडिएको छ
विस्तीर्ण आस्थामाथी कुल्चदै
मैनबत्तीलाई गिज्याई रहको छ

निर्जिव मूर्तिले सजिव सपनाहरु
बन्धक राख्न पाउँदैन
सोच्दछन्, केहि सजिव फूलहरु
विस्थापित गर्न बढ्छन्
तर, दुर्भाग्य
गन्तव्यमा पुग्नु अगावै
कुन्दाको निर्मम प्रहारबाट
निष्प्राण भई निर्जिव बन्छन्

अर्को रात शहरमा
कोपिलाको पत्र–पत्र लुछिँदै गर्दा
सजिव चित्कार प्रतिध्वनित भईरहेछ
तर, निर्जिव मूर्तिको रखवाला
बन्दुकहरु बहिरा बनेका छन्
गुलामीका रुई कानभरि कोचेर

जून रोएको त्यो रात
ढुङ्गा गुम्सिएको त्यो रात
शहर छट्पटिएको त्यो रात
गुलामहरुले आर्तनाद सुनेनन्
सजिवताको हत्या भईरहदा
डटिरहे निर्जिवताको रक्षा गर्न

बन्दुकहरुले निर्जिवतालाई पूज्ने होईन
सजिव आर्तनादलाइ चिन्नुपर्छ
सजिवताको हिफाजत गर्नुपर्छ
निर्जिव सजिवताको चक्र तोड्दै
उखेलिनु पर्छ, जड मूर्तिहरु
अनि पुजिनु पर्छ
वसन्तको संवाहक फूलहरु

तर, उदेक लाग्छ
अझै किन जारी छ, यो शालिकोत्सव ?

મહાન ત્યાગી – बेनिघाट
प्रकाशित मितिः २०७७ भाद्र २४